Logo

ओमनमा शक्तिशाली आँधी, नेपाली सुरक्षित



काठमाडौं १३ जेठ । मनको दक्षिणमा पर्ने सललाहमा प्रतिकिमि ११७ को गतिमा आएको शक्तिशाली सामुद्रिक आँधी ‘मिकुनु’ मा परी एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । आँधीले ठूलो क्षति पुर्‍याएको त्यहाँको सरकारी निकायले जनाए पनि पूर्ण विवरण आउन बाँकी छ ।

त्यस क्षेत्रमा कार्यरत कम्तीमा ७ हजार नेपाली सुरक्षित रहेको नेपाली दूतावासले जनाएको छ। ‘प्रभावित क्षेत्रका नेपालीसँग नियमित सम्पर्क भइरहेको छ,’ ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले भनिन्, ‘अप्रिय खबर आएको छैन।’
सलालहमा कार्यरत नेपालीका अनुसार प्रहरीले समुद्री तटीय क्षेत्रमा रहेका सबैलाई हटाएर सुरक्षित स्थानमा राखेको छ।

बिहीबार दिउँसोबाट शनिबार बिहान ८ बजेसम्म पानी परेको थियो। ‘सबैभन्दा बढी डर शुक्रबार दिउँसो ३ बजेदेखि शनिबार १२ बजेसम्म भयो,’ १२ वर्षदेखि सलालहमा कार्यरत भद्रपुर–२, झापाका टीकाप्रसाद दाहालले कान्तिपुरसँग भने, ‘मृत्युलाई पर्खेर बसेजस्तो भयो।’

समुद्री सतह बढेर घरको भुइँतलासम्म पानी जमेको छ। ‘हामी पहिलो तलामा बसेका थियौं, भुइँतला पानीले भरिएको छ,’ उनले भने, ‘बाहिर निस्कन पाएका छैनौं। हावाहुरी र पानी अझै ३६ घन्टा रोकिन्न भनिएको छ।’
१२ वर्षदेखि सलालहमा कार्यरत पुर्कोट–६, तनहुँका सागर अधिकारीले प्रहरीले समयमै सूचना दिएकाले मानवीय क्षति कम भएको बताए। ‘सललाह, सद्धा, हासिक, मर्माहकलगायत स्थानमा क्षति पुगेको छ। आँधीले तटिय क्षेत्रमा डुबान भएको छ। कृषिजन्य बाली ध्वस्त भएको छ। सबै सुपरमार्केट बन्द छन्,’ उनले भने।



प्रतिक्रिया दिनुहोस्