सिवी अधिकारी: काठमाडौँ, १४ जेठ । प्रथम महिला पत्रकार सगरमाथा आरोहण–२०१८ समूहका चार पत्रकारलाई सर्वोच्च शिखरको चुचुरोमा सफल आरोहण गराउनुभएका कीर्तिमानी आरोही फुर्वा तेञ्जिङ शेर्पाले थप नयाँ किर्तिमान राख्नुभएको छ ।
वसन्त ऋतुको यो याममा महिला पत्रकारलाई सगरमाथाको चुचुरोमा पु¥याउनुभएका कुशल पर्वतारोही उहाँले पथ प्रदर्शकको भूमिका मात्र हैन आफ्नो किर्तिमानीमा पनि नयाँ आयाम थप्नुभएको हो ।
यो यामसहित १३औँ पटक सगरमाथाको चुचुरोमा पुगेर फुर्वाले आफ्नो नयाँ पहिचान बनाउनुका साथै आफ्नै परिवारको सातजनाको समूहलाई सगरमाथा आरोहण गराउनुभएको र उनीहरूमध्ये चारजनाले एउटै समयमा सगरमाथाको चुचुरोमा पुगेर नयाँ कीर्तिमान बनाएको आरोही फुर्वा शेर्पाले जानकारी दिनुभयो ।
एउटै परिवारका एकै समयमा आरोहण गरेर किर्तिमानी कायम गर्नेमा फुर्वा तेञ्जिङ शेर्पा, फुर्वा थिली शेर्पा, पेम्बा दोर्जे शेर्पा र दावाडीकी शेर्पा हुनुहुन्छ । फुर्वा तेञ्जिङले यसअघि २४ वर्षको उमेरमा नौपटक र तीन दिनमा दुईपटक सगरमाथाको आरोहण गरेर कीर्तिमान बनाउनुभएको थियो ।
यसपटकको सगरमाथा आरोहणमा धेरै कीर्तिमानी कायम भएको छ । सोलुखुम्बुका कामिरीता शेर्पाले वैशाख ३१ गते सगरमाथाको चुचुरोमा २२ पटक आरोहण गरेर र सन् २००४ मा पेम्बाले आठ घण्टा १० मिनेटमा सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गर्नुभएका पेम्बादोर्जे शेर्पाले पृथ्वीनारायण शाहको मूर्तिसहित सगरमाथाको आरोहण गरेर नयाँ किर्तिमान राख्नुभएको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो ।
यही याममा संखुवासभाकी ल्हाक्पा शेर्पाले सगरमाथाको नौपटक सफल आरोहण गरेर नेपाली महिलाको नयाँ कीर्तिमान कायम गर्नुभएको छ ।
राष्ट्रिय समाचार समिति राससका पत्रकार रोशा बस्नेतसहित चार महिला पत्रकारले यही वैशाख ९ गते सगरमाथाको सफल आरोहण गरेका छन् ।
उहाँका साथै अन्य तीन पत्रकारमा टोलीनेता रोजिता बुद्धाचार्य बिपी कोइराला मेमोरियल प्लानेटोरियम अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय, मेघा टेलिभिजनकी कल्पना महर्जन र स्वतन्त्र पत्रकार देउराली चाम्लिङ रहनुभएको छ । ‘समानताका लागि बुलन्द आवाज’ भन्ने मूल नारासहित सो महिला पत्रकार समूह सगरमाथा आरोहणमा गएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठका अनुसार समूहका पाँचमध्ये न्यूज २४ टेलिभिजनकी पत्रकार प्रियालक्ष्मी कार्कीबाहेक चारजनाले सफल आरोहण गरेका हुन् । उनीहरुले नेपाल पत्रकार महासंघको झण्डा पनि चुचुरोमा पु¥याएका छन् ।
वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि शुरु भएर यही जेठ ११ गतेसम्म चलेको थियो । यस याममा ४०० भन्दा बढीले आरोहण गरिसकेका छन् । अघिल्ला वर्षभन्दा यसपटकको आरोहणमा मानवीय क्षति पनि कम भएको छ ।
यस वर्षको वसन्त ऋतुमा पर्यटन विभागले आरोहण अनुमति दिएका २८ हिमालबाट हालसम्म रु ४१ करोड २८ लाख ८४ हजार ६३८ रकम राजस्व संकलन भएको छ ।
सगरमाथा आरोहण सकेर धमाधम आरोही फर्कने क्रममा छन् । आरोही फुर्वा तेञ्जिङ शेर्पाका अनुसार अहिले आधार शिविरभन्दा माथि कोही पनि आरोही छैनन् ।
आरोहण सकेर घर फर्कन आधार शिविर र त्यसभन्दा तलतिर अनुकूल मौसमको खर्पाइमा छन् । बाक्लो हुस्सुले हेलिकप्टर पुग्न नसकेका कारण उनीहरुलाई फर्कन कठिनाइ भएको छ ।
आधार शिविरभन्दा तल गोरखसेपमा रहेकी आरोही पत्रकार रोशा बस्नेतले आफ्नो आरोहण सफल रहेको र सकुशल आधार शिविर ओर्लिएको बताउनुभयो । आइतबार आधार शिविर झरे पनि हेलिकप्टर नआएकाले काठमाडौँ फर्कने पर्खाइमा रहेको उहाँको भनाइ थियो ।
सगरमाथा आरोहण सहज
मौसमले साथ दिएका कारण विगतमा भन्दा यस वर्ष सगरमाथा आरोहणमा सहज भएको छ । आरोही फुर्वाले मौसम राम्रो भएकाले नै योपटक आरोहण सहज भएको बताउनुभयो । योपटक सगरमाथामा बाक्लो हिउँ भएकाले पनि आरोहणलाई सहज बनाएको उहाँको भनाइ थियो ।
यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणका क्रममा तीनजनाको मृत्यु भयो भने एकजना बेपत्ता रहे । सम्पर्क अधिकृत श्रेष्ठले अघिल्ला वर्षको आरोहणमा भन्दा यो वर्ष कम क्षति भएको बताउनुभयो । रासस