Logo

बालकृष्ण ढुंगेलसहित ८ सय १६ कैदी आज जेलमुक्त हुँदै



काठमाडौं १५ जेठ । नेता बालकृष्ण ढुंगेल आज कैद मुक्त हुने भएका छन । उनको कैद माफी गर्ने निर्णय राष्ट्रपतिबाट स्वीकृत भएको छ। सरकारको सिफारिस अनुसार राष्ट्रपति बिद्यादेवी भण्डारीले हिंजो सोमबार विवादका बीच कैद माफीको प्रस्ताव स्वीकृत गरेकी छिन्।

द्वन्द्वकालमा उज्जनकुमार श्रेष्ठको हत्याको घटनामा ढुंगेलविरुद्धको मुद्दामा द्वन्द्वकालमै उनी साढे सात वर्ष जेल बसेका थिए। तत्कालिन पुनरावेदन अदालतले उनलाई सफाई दिएपछि छुटेकोमा पछि सर्वोच्चले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो।

उनलाई गत कात्तिक १४ गते उनलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा ४० प्रतिशत कैद भुक्तान गरेपछि बाँकी कैद माफी हुने प्रवाधानअनुसार उनी छुट्न लागेको बताइएको छ ।

सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले ८ सय १६ कैदीको कैद मिनाहा गरेकी हुन्। गणतन्त्र दिवसको अवसरमा कैद माफीको निर्णय भएको बताइएको छ।

राष्ट्रपति कार्यालयद्वारा हिंजो बेलुका जारी विज्ञप्तीमा भनिएको छ ‘आज मिति २०७५ साल जेठ १४ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को सिफारिसमा एघारौं गणतन्त्र दिवस, २०७५ को उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका तेम्बा शेर्पासमेत ८१६ (आठ सय सोह्र) जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको छ ।’

आइतबारको मन्त्रिपरिषद्को बैठकले कैद माफीसम्बन्धि सिफारिसको निर्णय गरेको थियो।



प्रतिक्रिया दिनुहोस्