काठमाडौं २८ जेठ । सरकारले मन्त्रालयगत विभिन्न शीर्षकमा छुट्याइएको बजेटको पुस्तक नछापेका कारण आइतबारको संसद् बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भएको छ। सरकारले १२ दिनअघि जेठ १५ गते आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक बजेट सार्वजनिक गरेको थियो। आइतबारका लागि प्रतिनिधिसभाको दैनिक कार्यसूचीमा ४ वटा मन्त्रालयको विनियोजन विधेयकको विभिन्न शीर्षकमाथि छलफल गर्ने कार्यक्रम रहेको थियो।
विशेष समयमा सांसदहरूले बोलिसकेपछि अचानक सभामुख कृष्णबहादुर महराले १ देखि ७ नम्बरसम्म रहेको कार्यसूचीको विषय हटाइएको जानकारी दिनुभएको थियो। संसद् सचिवालयले ६ दिनसम्म मन्त्रालयगत छलफल गर्ने र ३ दिनसम्म सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यतालिका थियो। दैनिक ११ बजेदेखि ५ घण्टासम्म छलफल गर्ने भनिए पनि शुरूकै बैठक अघि बढ्न सकेन।, नेपाल समाचारपत्र
संयुक्त कार्यविधि आज पारित हुँदै
संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली–२०७५ आज सोमबार पारित हुँदै छ। आज दिउँसो १ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा नियमावली पारित हुने सांसद लक्ष्मणलाल कर्णले बताउनुभयो। ‘संयुक्त बैठक कसरी चलाउने र समितिलाई कसरी व्यवस्थित गरिने भन्ने नियम यो संयुक्त नियमावलीमा उल्लेख छ’, कर्णले भन्नुभयो– ‘केही संयुक्त बैठक बस्नुपर्ने हुन्छ र केही समितिले संयुक्तरूपमा काम गर्नेछन्।’
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका सञ्चार विज्ञ अशोक पौडेलले प्रतिनिधिसभा र राष्ट्रिय सभा नियमावली–२०७५ बनाउनका लागि गठित दुवै समितिको संयुक्त बैठकले यो संयुक्त नियमावली बनाएको बताउनुभयो। संयुक्त बैठकको सञ्चालन प्रतिनिधिसभाको सभामुखले गर्नुहुनेछ, सभामुखसँगै राष्ट्रिय सभाका अध्यक्ष पनि ड्यासमा सँगै रहनुहुनेछ।