Logo

हत्या आरोपमा वडाअध्यक्ष पक्राउ



काठमाडौं २९ जेठ । रौतहटमा एक बालकको हत्या गरेको अभियोगमा वडाध्यक्ष पक्राउ परेका छन् । कटहरिया नगरपालिका–९ स्थित डुमरिया टोलका १२ वर्षीय युवराज साहको हत्या अभियोगमा वडाध्यक्ष रामाज्ञाराय यादव पक्राउ परेका हुन् ।

हत्याको मुख्य योजनाकार वडाअध्यक्ष यादव हुनसक्ने ईलाका प्रहरी गरुडाका प्रहरी निरीक्षक चतुर्भज ओझाले बताए । उनीसहित पक्राउ पर्नेको संख्या ७ पुगेको छ ।

आफ्नै घरमा सुतिरहेका बालकलाई छिमेकी वडाध्यक्ष यादवको योजनामा अपहरणपछि हत्या भएको प्रारम्भीक अनुसन्धानमा खुलेको छ । वडाध्यक्ष यादवका छोरा शक्ति यादव, वृन्दावन नगरपालिकास्थित आकरपाथर टोलका रवी पटेल र विनोद पटेलको बयानबाट बालकको अपहरण र हत्याको योजना वडाध्यक्षले नै बनाएको खुलेको हो । पीडितका आफन्त र स्थानियले अपरान्ह वडाध्यक्षको घरमा ढुंगामुडा गरेका थिए ।

अपहरणकारीले काकाका छोरा निरन्जन जैसवालले प्रयोग गर्ने मोबाइल पनि साथै लगेका थिए । सोही मोबाइलबाट अपहरणको १२ घण्टापछि अपहरित बालकका बुवा दिलिप साहलाई फोन गरी १ करोड रुपैयाँ फिरौती माग गरेको थियो ।

साहले त्यति धेरै रकम तिर्न नसक्ने बताएका थिए । त्यसपछि ५ लाख रुपैयाँमा बालकलाई अपहरण मुक्त गर्ने सहमति भइसकेको थियो । अपहरणकारीले २ घण्टापछि स्थान तोक्ने बताएर सम्पर्कविहीन भएका थिए ।

आइतबार राति करिब साढे ११ बजे वडाध्यक्ष यादवका भाइ रामबालक यादवले अपहरित बालकका काका ओमप्रकाश जैसवाललाई फोन गरी भतिजाहरुले बालक अपहरण गरेको र फिर्ता गराउने बताएपछि जैसवालले इलाका प्रहरी गरुडालाई खबर गरेका थिए ।

त्यसपछि प्रहरीले गरुडा नगरपालिका ४ को वडा कार्यालय नजिकैको घरबाट वडाध्यक्ष यादवका छोरा सहितलाई नियन्त्रणमा लिन सफल भएको थियो । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्