Logo

राष्ट्रिय सभाका ५९ सांसदको कार्यकाल ४ असारमा टुंगो लाग्ने



काठमाडौं २९ जेठ । राष्ट्रिय सभाका अध्यक्षसहित सबै सदस्यहरूको कार्यकाल टुंग्याउन ४ असारमा गोलाप्रथा हुने भएको छ । गोलाप्रथामा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, सत्तापक्ष दलका नेता दीनानाथ शर्मा र प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्र पाण्डेबीच रोचक प्रतिस्पर्धा हुने भएको छ ।

राष्ट्रपतिबाट मनोनीत हुने र प्रत्येक प्रदेशबाट प्रतिनिधित्व भएकाहरूको कार्यकालका लागि क्लस्टरअनुसार गोलाप्रथा हुन लागेकाले तिमल्सिना, शर्मा र पाण्डेमध्ये एकजनाको २ वर्ष, अर्कोको ४ वर्ष र तेस्रोको ६ वर्ष कायम हुनेछ । उनीहरू तीनैजना प्रदेश ४ बाट खुला समूहबाट राष्ट्रिय सभामा आएका हुन् ।

यसरी हुन्छ गोलाप्रथा
हाल राष्ट्रिय सभामा रहेका ५९ सदस्यमध्ये १९ जनाको २ वर्ष, २० जनाको ४ वर्ष र बाँकीको ६ वर्ष पदावधि तोकिने नियमावलीमा व्यवस्था छ । राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट तीन महिला, तीन खुला, एक दलित र एक अपांगता तथा अल्पसंख्यकबाट गरी आठजनाका दरले ५६ सांसदले प्रतिनिधित्व गरेका छन् । यसबाहेक तीनजना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गरिएका छन् । राष्ट्रिय सभाका सांसदको कार्यकाल पाँच समूहमा विभाजन गरी गोलाप्रथा गराउने नियमावलीमा व्यवस्था गरिएको छ ।

१. प्रत्येक प्रदेशबाट निर्वाचित तीनजना महिला सदस्यको समूह
२. प्रत्येक प्रदेशबाट खुला समूहबाट निर्वाचित सदस्यको समूह
३. सबै प्रदेशबाट निर्वाचित सातजना दलित सदस्यको समूह
४. सबै प्रदेशबाट निर्वाचित सात अपांगता भएका व्यक्ति वा अल्पसंख्यक सदस्यको समूह
५. राष्ट्रपतिबाट मनोनीत तीन सदस्यको समूह

राष्ट्रिय सभाका ५९ सांसदमध्ये सरकारको सिफारिसमा राष्ट्रपतिबाट निर्वाचित तीनजनाको क्रमश २, ४ र ६ वर्ष पदावधि तोकिनेछ । प्रत्येक प्रदेशको महिला आरक्षणबाट निर्वाचित तीन र खुलाबाट निर्वाचित तीनजनाको क्रमश २, ४ र ६ वर्ष कार्यकाल निर्धारण हुनेछ । त्यस्तै, सातवटै प्रदेशका दलित आरक्षणबाट निर्वाचित सातजनामध्ये दुईको २ वर्ष, दुईको ४ वर्ष र अन्य दुईजनाको ६ वर्ष पदावधि हुनेछ । बाँकी एकजनाले शून्य लेखिएको गोला टिप्नेछन् ।

सातवटै प्रदेशबाट अपांगता एवं अल्पसंख्यकको आरक्षणबाट निर्वाचित सातजनामध्ये दुईजनाको २ वर्ष, दुईजनाको ४ वर्ष र दुईजनाको ६ वर्ष पदावधि तोकिनेछ । तर, एकजनाले शून्य लेखिएको गोला टिप्नेछन् । दलित समूहबाट शून्य टिप्ने एक र अपांगता तथा अल्पसंख्यक समूहबाट शून्य टिप्ने एक गरी दुईजनालाई पुनः ४ र ६ लेखिएको गोला टिपाइने राष्ट्रिय सभा नियमावली मस्यौदा समिति सभापति पर्शुराम मेघी गुरुङले बताए ।

अध्यक्षदेखि मन्त्रीसम्मको कार्यकालको टुंगो छैन
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनादेखि गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री युवराज खतिवडासम्मको कार्यकालको टुंगो गोलाप्रथाबाट लाग्नेछ । राष्ट्रिय सभाका अध्यक्षको कार्यकाल ६ वर्षअघि नै सकिए अर्को अध्यक्ष चयन गरिने कानुनविद् एवं राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले बताए ।

उनले भने, ‘संविधानले अध्यक्ष वा मन्त्री हुँदैमा छुट दिने भन्ने व्यवस्था गरेको छैन । राष्ट्रिय सभाका ५९ मध्ये एकतिहाइको २ वर्ष, अर्को एकतिहाइको चार वर्ष र बाँकीको छ वर्ष कार्यकाल तोकिने व्यवस्था छ ।’

तर, संघीय संसद्को सदस्य नभए पनि ६ महिनासम्म मन्त्री हुन सक्ने व्यवस्था संविधानमा उल्लेख छ । ६ महिनाभित्र संघीय संसद्को सदस्य नभए मन्त्रीपद खारेज हुनेछ भने सदस्य भए मन्त्रीपद कायम रहनेछ । गृहमन्त्री थापाको सांसदको कार्यकाल २ वर्ष मात्रै कायम भयो भने उनी सांसद पदबाट मुक्त भएको बढीमा ६ महिनापछि मन्त्री पदबाट पनि मुक्त हुनेछन् ।

सांसद बिडारीले भने, ‘मन्त्री भएका राष्ट्रिय सभाका सदस्यको कार्यकाल गोलाप्रथाबाट २ वर्ष मात्रै भयो भने कार्यकाल सकिएको ६ महिनासम्म मन्त्री हुन सक्नेछन् । पुनः निर्वाचन प्रक्रियाबाट सांसद भए भने मन्त्रीपद कायमै रहनेछ । नभए स्वतः हट्नेछन् ।’

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको पदावधि २ वर्ष मात्रै पनि रहन सक्ने र उनको कार्यकाल सकिएपछि पुनः निर्वाचन प्रक्रियाबाट सांसद बन्न सक्ने संवैधानिक व्यवस्था छ । तर, उनी पुनः निर्वाचित भएर आए पनि अर्को अध्यक्ष हुन सक्ने कानुनविद्समेत रहेका सांसद बिडारीले बताए । नयाँपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस्