Logo

ट्रम्पको निर्देशनमा १८ नेपालीसँगै ८० अवैध आप्रवासी पक्राउ !



काठमाडौं, ६ असार । ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी नीतिमा कडाइ गरेपछि कम्तीमा १८ नेपालीसहित करिब ८० जना दक्षिण एसियालीहरूलाई पक्राउ गरिएको ओरेगनको एउटा कारागारमा राखिएको अधिकारवादी संघसंस्थाले जनाएका छन्।

मध्यमस्तरको सेरिडन संघीय जेलमा राखिएका आप्रवासीमध्ये पूर्वी भारतका ५२ जना र नेपालका १८ जना रहेको बताइएको छ। त्यसबाहेक पाँचजना चिनियाँ र ३० जना मध्य अमेरिकी देशहरूका आप्रवासी रहेको एसियन प्यासिफिक नेटवर्क अफ ओरेगन नामक संस्थाले स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै जानकारी दिएको छ।

सो संस्थाले इनोभेसन ल ल्याब नामक अर्को संस्थासँग मिलेर थुनामा राखिएका आप्रवासीहरूलाई सहायता गर्ने प्रयास गरिरहेको बताएको छ। एउटा प्रेस विज्ञप्तिमा एसियन प्यासिफिक नेटवर्क अफ ओरेगनले भनेको छ, पक्राउ गरिएकाहरूलाई एक्लाएक्लै राखिएको छ र कानूनी अधिकारबाट उनीहरूलाई वञ्चित गरिएको छ।

उसका अनुसार उनीहरूलाई अनुवादकसँग सीमित पहुँच दिइएको छ र अहिलेको व्यवस्था अनुसार उनीहरूमाथि दुर्व्यवहार हुन सक्ने अवस्था छ । चार दिनअघि अमेरिकी सांसदहरूको एउटा प्रतिनिधिमण्डलले उक्त कारागारको भ्रमण गरेको थियो।

त्यसमा रहेकी सांसद सुजन बोनामिचीले तारवारले घेरिएको उक्त जेलमा कडा सुरक्षा रहेको र त्यहाँस्थित आप्रवासीहरूसँग आफूले कुराकानी गरेको बताएकी छन्।

उनका अनुसार पक्राउ गरिएकाहरूले आफ्ना देशमा हिंसा वा गलत रूपमा कारबाही खेप्ने जोखिम रहेकाले शरण लिन अमेरिका प्रवेश गरेको बताएका थिए।

पक्राउ गरिएकाहरूलाई उनीहरूका भाषाका आधारमा समूह बनाएर राखिएको र उनीहरूमध्ये धेरैले वकिलसँग आफूलाई कुराकानी गर्न नदिएको बताएको बोनामिचीले जनाएकी छन्।

सेरिडानमा बन्दी बनाइएका शिख समुदायका मानिसहरूले सांसदहरूलाई भारतमा आफूहरूलाई धार्मिक पृष्ठभूमिका कारण अप्ठेरो रहेको उल्लेख गर्दै शरण खोज्न आएको बताएका थिए। स्रोत नेपाली बीबीसी

बोनामिचीको वेबसाइटमा राखिएको विज्ञप्तिमा भनिएको छ, हामीले सुनेका कथाहरू मन छुने र पीडादायी थिए। शरण खोज्ने अधिकार भए पनि उनीहरूलाई अपराधीसरह व्यवहार गरिएको छ जुन गलत हो।

उनले त्यहाँ रहेका नेपाली बन्दीहरूसँग पनि आफूहरूले कुराकानी गरेको उल्लेख गरेकी छन् । वाशिङटन डिसीस्थित नेपाली राजदूत अर्जुनकुमार कार्कीले पक्राउ परेको भनिएका नेपालीबारे दूतावाससँग कुनै पनि जानकारी नभएको बीबीसीलाई बताए।

एउटा स्थानीय अनलाइन ओरेगन लाइभ डट कमका अनुसार ती आप्रवासीहरूलाई भेट्ने प्रयास गरेका वकिलहरूलाई संघीय अधिकारीहरूले सोमवार तेस्रो पटक पनि भेटघाट गर्न दिएनन् ।

यो पनि पढ्नुहोस्

अमेरिका आप्रवासी शिविर बन्दैनः राष्ट्रपति ट्रम्प 

अवैधरुपमा बसेका आप्रवासिलाई देश छोड्न मेलेसियाली गृहमन्त्रालयको निर्देशन

अमेरिकाबाट ९ हजार नेपालीलाई फिर्ता पठाउने तयारी

आप्रवासी नीतिमा कडाइले अमेरिकाको कृषि क्षेत्रमा असर 

आप्रवासीहरूको अधिकारको पक्षमा ओरेगनमा कार्यरत एउटा संस्था काउसकी कार्यकारी निर्देशक एन्ड्रिया विलियम्सले पक्राउ परेका आप्रवासीहरू जोखिममा रहेको बीबीसीलाई बताइन् ।

उनीहरूलाई धार्मिक समुदायका नेता, वकिल वा अधिकारकर्मी कसैसँग भेटघाट गर्न दिइएको छैन। कतिपयलाई चोटपटक लागेको वा उनीहरू बिरामी भएका विवरण पनि आएका छन् । तर उनीहरूले औषधोपचार पनि नपाएको अवस्था रहेको हामीले थाहा पाएका छौँ।

ट्रम्पले गैरकानूनी रूपमा अमेरिका प्रवेश गर्न खोज्ने शरणार्थीविरुद्ध शून्य सहनशीलताको नीति लिएको घोषणा गरेपछि हालैका दिनमा सीमामा कडाइ गरिएको छ ।

हालैका हप्ताहरूमा मेक्सिकोको सीमा क्षेत्र हुँदै अमेरिका प्रवेश गर्न खोज्ने अभिभावक र उनीहरूका बच्चालाई अलग गरी कारबाही अघि बढाइएको भन्दै राष्ट्रसंघसहितका निकायले उनको आलोचना गरिरहेका छन्। हालैका वर्षहरूमा मेक्सिकोको बाटो हुँदै अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्ने दक्षिण एसियालीहरूको संख्या बढ्दै गएको बताइन्छ।

द लस एन्जलस टाइम्सका अनुसार सन् २०१६ को अगस्टअघिको ११ महिनामा मात्रै ४ हजार भन्दा बढी बांग्लादेशी, भारतीय, नेपाली र पाकिस्तानीहरूले उक्त बाटो हुँदै अमेरिका प्रवेश गर्ने प्रयास गरेका थिए।

त्यसको सात वर्षअघि उक्त संख्या २२५ मात्रै रहेको उक्त अखबारले जनाएको छ । अमेरिकी सीमा अधिकारीहरूलाई उद्धृत गर्दै उक्त अखबारले त्यसबेला अवैध रुपमा प्रवेश गर्न खोज्ने ३६ सयभन्दा बढी आप्रवासीलाई पक्राउ गरिएको उल्लेख गरेको छ। बीबीसी



प्रतिक्रिया दिनुहोस्