बाजुरा, १९ असार । अविरल वर्षाका कारण अवरुद्ध भएको साँफे–मार्तडी सडकखण्ड आजदेखि सञ्चालनमा आएको छ ।
आइतबारदेखि परेको वर्षापछि पहिरोले बाटो अवरुद्ध भएको थियो । ठाउँठाउँमा पहिरो गएका कारण करीब २७ किलोमिटर सडक अवरुद्ध बनेको थियो ।
पिएस कम्पनीले जेसिवी प्रयोग गरी पहिरो गएको ठाउँबाट माटो पन्छाएपछि सडक सञ्चालन भएको प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए। आज बिहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालनमा आएका छन् । जिल्लाका ग्रामीण भेगका सडक भने सञ्चालनमा आउन सकेका छैनन् ।
ग्रामीण सडक सञ्चालन गर्न कसैको ध्यान नगएको स्थानीयवासीको गुनासो छ । रासस