जुम्ला, २१ असार । स्वास्थ्य अवस्था निकै कमजोर बन्दै गएपछि वरिष्ठ हाडजोर्नी चिकित्सक डा.गोविन्द केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा भर्ना गरिएको छ । पाँच दिनदेखि जुम्लामा अनशनरत डा.केसीलाई प्रतिष्ठानको शिक्षण अस्पताल, जुम्लाको आकस्मिक कक्षमा बुधबार साँझ भर्ना गरिएको हो ।
स्वास्थ्य निकै गम्भीर अवस्थामा पुगेपछि एम्बुलेन्सबाट उनलाई अस्पतालमा पु¥याइएको प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा. पूजन रोकायाले जानकारी दिए । डा.केसीलाई अस्पताल पु¥याएसँगै सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापा र प्रहरी नायब उपरीक्षक डा.तपनकुमार दाहालले केसीलाई भेटेका छन् ।
स्वास्थ्यजस्तो संवेदनशील कुरामा ध्यान दिएर डा केसीको उपचारका लागि कुनै कसर बाँकी नराख्न चिकित्सकलाई निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी बुढ्थापाले बताए । यता डा.विनोद अर्यालले एक्कासि डा.केसीको मिर्गौला र छातीमा समस्या आएपछि उनलाई अस्पताल लैजानुको विकल्प नरहेको जानकारी दिए ।
डा.अर्यालले भने,‘निषेधाज्ञालाई तोडेर भएपनि उपचारार्थ डा.केसीलाई प्रतिष्ठानमा पु¥याएका छौँ, आशा गरौँ स्वास्थ्यमा सुधार आउला ।’
उनका अनुसार चिकित्सकको निरन्तर प्रयासले मात्र अस्पताल लान सम्भव भएको हो । नत्र डा.केसीको जीवन झनै खतरायुक्त बन्दै जाने अवस्था रहेको उनको भनाइ थियो ।
उहाँलाई सघन उपचार कक्षमा राखिएको प्रतिष्ठानले जनाएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै आउनुभएका उनले विभिन्न व्यवधानकोबीच जुम्लाको विद्युत् लगायत कुनै सेवा नभएको कभर्डहलमा १५ औँ पटकको अनशन शनिबारदेखि शुरु गरेका हुन । डा. केसीले आइतबारदेखि स्वास्थ्य अवस्था जटिल बन्दै गएपनि सरकारले मागको सुनुवाइ नगरुञ्जेल अनशन नतोड्ने अडान राख्दै आएक छन् ।