काठमाडौँ, २२ असार । शुरुवातीको चरणमा धेरै हन्डर खाइयो । उडाउनेहरुको पनि कमी थिएन । असम्भव विषयमा किन हात हालेको भन्दै खिसीटिउरी गर्ने पनि प्रशस्तै थिए । तर जुन असम्भव थियो, त्यसैमा हात हालेँ । आज फर्केर हेर्दा केही सफल भएको जस्तो लाग्छ ।
यो भनाइ हो सफल पर्यटन व्यवसायी लाक्पाफुटी शेर्पाको । पर्वतारोहणका लागि नेपाल संसारभर नै प्रसिद्ध छ । पर्वतारोहणमा इच्छा राख्नेहरु नेपालको हिमाललाई नजिकबाट नियाल्न चाहन्छन् । मान्छेका सोच फरक हुन्छन्, चाहना पनि फरक नै रहन्छन् । त्यस्तै फरक चाहना थियो लाक्पाकोपनि ।
हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले धेरैलाई हिमालको शिखरमा पु¥याए । धेरैका नाम संसारभर चिनाए । तिनले हिउँसँग मितेरी गाँसे र सफल पनि भए ।
संसारभर नै शेर्पा समुदायको बहादुरी र साहसको प्रशंसा सामान्यरुपमा मात्रै हुने गरेको छ । तर शेर्पाको नाम सधैँ ओझेलमा परेको, दुःख गर्नेहरु कहिल्यै अग्रपंक्तिमा नदेखिने दुःखद अवस्थाले लाक्पालाई नराम्ररी झस्कायो ।
सयौँको नाम राखिदिने, सयाँैलाई शिखरमा पु¥याउने शेर्पा समुदायको साहसलाई शैक्षिकरुपमा पनि सबल बनाउने लाक्पाको चाहना थियो । मनको कुनामा रहेको चाहना पूरा गराउन शुरुमा आफ्नै भन्नेले पनि सहयोग गरेनन् । आफन्त नै पाराया भएपछि कसको के लाग्दो रहेछ र ?
सरकारी निकायको ढोका ढक्ढक्याउँदा दर्जनभन्दा बढी जोर चप्पल पुराना भए । कैयौँदिन चर्को घामले पिरोल्यो भने कैयौँ दिन मुसलधारे पानीले चुट्यो । तर सम्पन्न गर्छु भनेर शुरु गरेको काम पूरा नगरीकन थाक्ने भन्ने नै थिएन । रासससँगको भेटमा लाक्पाले आफ्नो विगत सम्झिए ।
“नेपालका शेर्पा र पर्वरोहणमा काम गर्न चाहनेलाई शैक्षिक ज्ञान दिनु आवश्यक छ भन्ने चाहना पूरा गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको ढोका चाहर्दाचाहर्दै छ वर्ष बित्यो । करीब करीब हार खाने अवस्थामा पुगेको थिएँ । तर पछि सबैको सहयोग र प्रयासले सफल भएँ” लाक्पाले चलचित्रको दृश्यजस्तै विगत सुनाउदै भने ।
“मन्त्रालयका कतिपय अधिकारीले शुरुमा असम्भव विषयमा किन लागेको भन्दै सहयोग गरेनन् । जुन विषयलाई असम्भव भनिएको थियो, तर आज आएर सम्भव भएको छ” लाक्पाले भने । लामो मेहनत र प्रयासपछि नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान स्थापना भयो । सो प्रतिष्ठानले गत वर्षदेखि शैक्षिक कार्यक्रम शुरु गरेको छ । पर्वतारोहणका लागि दक्ष जनशक्ति स्थापना गर्ने आफ्नो लक्ष्य पूरा भएकामा खुशी देखिन्छन लाक्पा ।
पहिलो सेमेष्टर सञ्चालनमा आइसकेको छ । दोस्रोको तयारी भइरहेको छ । हाल प्रतिष्ठानले स्नातक तहको शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ । छिट्टै स्तातकोत्तर तहको अध्ययन अध्यापनको काम पनि शुरु हुनेछ ।
नेपालमा विदेशी विद्यार्थीका लागि आकर्षण गर्ने कुनै शैक्षिक कार्यक्रम हो भने पर्वतारोहणसम्बन्धी अध्ययन नै हो । धेरै लामो मेहनत र प्रयासले सार्थकता पाउँदा लाक्पालाई संसार जितेभन्दा बढ्ता खुशी मिलेको छ । “हामीले नजानेरै धेरैका भारी बोक्यौँ । अनपढ शेर्पा भन्नेहरु पनि भेटिए । अब भने त्यस्तो हुन्न, हिमाल चढ्नेहरु पनि पढेका, जानेका र बुझेका हुन्छन् भन्ने सत्य स्थापना गर्न सकिएको छ”, लाक्पाका आँखामा उत्साह देखिन्छ ।
शिक्षा मन्त्रालयमा धाउँदा १०३ डिग्रीको ज्वरो आएको थियो । पटकपटक नेपाल बन्द हुन्थ्यो, हिँड्दै त्रिभुवन विश्वविद्यालय पुगेको पनि आजैजस्तो लाग्छ उनलाई ।
“कति दिन भोकै कुदेँ, कति दिन आधा पेट खाएर कुदेँ । किनकी नपढेका शेर्पाले हिमाल चढ्छन्, छोरी चेरीले हिमाल चढ्नु हुन्न, देवता रिसाउँछन् भन्ने आरोप पनि लाग्थ्यो । तर अब नेपालका छोरी चेलीले हिमाल चढ्ने ज्ञान सिक्छन् र जान्छन्”, लाक्पा विगतको पीडा आज खुशीमा परिणत भएको बताउनछिन ।
ज्वरो आएका बेला पनि फाइल बोकेर धाएको क्षण मानसपटलमा स्मरणीय रहिरहेको छ । त्रिभुवन विश्वविद्यालयमा बन्दको बेला भोकै बस्नुपरेको तीतो अनुभव छ ।
‘हिमालकी छोरी’ नामक पुस्तकको लेखकसमेत रहनुभएकी लाक्पा हिमाली क्षेत्रका बारेमा राम्रै जानकार हुन। विदेशीले तिमीहरुकामा हिमाली क्षेत्रको ज्ञान दिने कुनै शैक्षिक संस्था छैन कि के हो भनेर गर्ने प्रश्नले हृदयमा घोचेकाले आफू प्रतिष्ठान स्थापनामा लागेको स्मरण गर्छीन ।
नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको संस्थापक कार्यकारी निर्देशकसमेत रहेकि लाक्पाफुटी विदेशका विद्यार्थीलाई नेपाल भित्र्याउने पहिलो शैक्षिक कार्यक्रम आफूहरुकै भएकामा गर्र्व गर्छीन ।
“नेपालमा अहिलेसम्म हामी हिमाल हिमाल मात्रै भन्छौँ, तर हिमालमैत्री र पर्वतारोहणमैत्री पनि छैनौँ । हिमालसँग जोडिएका धेरै विषयमा अध्ययन गर्न सकिन्छ । हिमाली क्षेत्रको रहनसहन, रीतिरिवाज, हिमनदी, हिमाली वनस्पति, शेर्पा समुदायको कला र सांस्कृतिक पाटो पनि बुझ्नुपर्छ । शेर्पा र हिमालमात्रै भनेर पनि भएन नि उनले आफ्नै जन्मथलो सम्झिइन ।
सोखुखुम्बुको चौँरीखर्कबाट काठमाडौँ छिर्दा उहाँसँग बाबाआमाले दिएको नाममात्रै थियो । तर आज उनसँग के छैन । नाम, दाम दुवै छ । समाजले चिनेको छ, देश विदेशमा उनको नाम छ ।
उनको बाल्यकाल हिमालसँगै बित्यो । शुरुमा पर्यटकको भरिया बनिन । विगत सहज थिएन । दुखैदुःखमा बितेको थियो ।
विगत ४० वर्षदेखि निरन्तर पर्यटन क्षेत्रमा नै क्रियाशील छिन शेर्पा । पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहण गर्दा उनको आरोहण दलको सहायकका रुपमा थिईन उनि ।
“करीब आठ हजार मिटरसम्म पुगेको थिएँ । तर पासाङको निधनपछि मैले आरोहण स्थगित गरिदिएँ”। पासाङ ल्हामु शेर्पाको सगरमाथाको चुचुरोमा पुगेर फर्कने क्रममा आठ हजार ७०० मिटरमा रहेको साउथ समिटमा निधन भएको थियो ।
हिमाली प्रकृति शोधार्थी तथा विद्यार्थीका लागि विश्वविद्यालय जत्तिकै छ । त्यसलाई व्यवस्थित गरेर सञ्चालन गर्ने लक्ष्यका साथ शुरु गरिएको काम सफल भएको छ ।
निकै कष्टका साथ पाठ्यक्रम बनाएर अहिले कलेज शुरु भएको छ । विश्वमै नभएको चिज पहिलोपटक शुरु भएको हो चुनौती त धेरै छन् । तर पनि स्थिर सरकार बनेकाले सकारात्मक आशा जागेको छ भन्छिन लाक्पा ।
‘ब्याचलर इन माउण्टेनरिङ’ मा अहिले २३ जना विद्यार्थी अध्ययनरत छन् । सबै विद्यार्थीले राम्रो नतिजा ल्याएका छन् । विदेशी विद्यार्थीले समेत एकदमै चासो देखाएका छन् । ललितपुरको सातदोबाटोमा कक्षा सञ्चालन भइरहेको छ ।
एड्भेन्चर एण्ड माउण्टेन टुरिजम’ नामक शैक्षिक कार्यक्रमको अनुमतिका लागि त्रिविविलाई अनुरोध गरिसकिएको छ । त्यस्तै, दश जोड दुईका लागि पनि पाठ्यक्रम बनाएर उच्च माध्यमिक शिक्षा परिषद्मा पठाइसकेको बताउनुहुन्छ प्रतिष्ठानका प्रशासन प्रमुख उत्तमबाबु भट्टराई ।
अहिले नेपाली पढ्दैछन् धेरै विदेशीले चासो देखाएका छन् । आशा छ, एकदिन संसारकै उत्कृष्ट विश्वविद्यालयका रुपमा हिमाली क्षेत्रको अध्ययन अगाडि बढ्नेछ ।
चारवर्षे शैक्षिक कार्यक्रमका लागि हाल रु छ लाख खर्च लाग्छ । सात हजार मिटरको उचाइमा लगेर विद्यार्थीलाई अध्ययन तथा अध्यापन गराइन्छ ।
शैक्षिक कार्यक्रमका लागि दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्क मुलुकका विद्यार्थीका लागि रु सात लाख र अन्य देशका विद्यार्थीका लागि रु १२ लाखबराबरको शुल्क लाग्छ ।
नेपाल पर्वतारोहण संघका पूर्व अध्यक्ष आङछिरिङ शेर्पा हिमाली क्षेत्रको अध्ययन गराउने संस्था चीन, दक्षिण कोरिया र जापानलगायतका मुलुकमा रहेका छन् । प्रकृतिले साथ दिएको आधारमा नेपालको शैक्षिक कार्यक्रम नै उल्लेख्य रहेको उनको भनाइ छ ।
नेपालमा शैक्षिक कार्यक्रम शुरु भएपछि पहिलो कक्षा नै आफूले लिएको बताउँदै शेर्पाले भनिन, “शैक्षिक कार्यक्रम शुरु भएको छ । यसलाई थप प्रवद्र्धन र व्यवस्थित गर्नु जरुरी छ ।”
स्वदेशी तथा विदेशी विज्ञ ल्याएर यहाँ अध्ययन गराउन सकिए आगामी दिनमा विदेशी विद्यार्थी बढ्ने प्रतिष्ठानका प्रशासन प्रमुख भट्टराईको दाबी छ ।
हाल सार्क, अमेरिका, क्यानाडालगायत देशका विज्ञ र विद्यार्थीले रुची देखाएका छन् । केही पूर्वाधारको व्यवस्था भए नेपालको पर्यटन क्षेत्रलाई विश्वमा चिनाउन थप सफलता मिल्ने प्रमुख भट्टराईको भनाइ छ ।