Logo

करोड लगानीमा एकैपटक पाँचवटा पसल सञ्चालनमा



नगरकोट, २५ असार । एआर समूहले भक्तपुरमा करीब रु एक करोड लगानीमा एकैपटक पाँचवटा पसल सञ्चालनमा ल्याएका छन।

उक्त चेन पसलको एक कार्यक्रमबीच भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापति र लायन्स क्लब अफ भक्तपुर समन्वय समितिका संयोजक विष्णुभक्त मारिखुले रिबन काटेर उद्घाटन गरेका हुन ।

उनले भक्तपुर नगरपालिका– १ दूधपाटीमा मःम एण्ड पिजा घर, कस्तुरी फेसियल एण्ड सैलुन, अस्री २।६ कलेक्सन, पटुका बुटिक र ०१०१ ट्याटु स्टुडियो सञ्चालन गरेका छन । मःम एण्ड पिजा घरमा नेपाली अर्गानिक कफीसमेत पाइन्छ ।

एआर समूहकी सञ्चालिका अनु गिरीले भक्तपुरमा रहेका चेन पसल तथा अन्य व्यवसायको अध्ययन गरेर मात्रै आफूहरु सार्वजनिकरुपमा अघि बढेको बताईन। “उपभोक्ताको जीवनशैली तथा खानपानमा धेरै परिवर्तन आइसकेको छ”, उनले भनिन, “त्यसैलाई सम्बोधन गर्न अहिलेको आवश्यकता एकै ठाउँमा उपलब्ध गराउने गरी पाँचवटा फरकफरक पसल सञ्चालनमा ल्याएका हौँ ।”

युवायुवतीको चाहना र मागबमोजिम एआर समूहले भक्तपुरसँगै काठमाडौँ, ललितपुर र काभ्रेमा आफ्नो चेन व्यवसाय विस्तार गर्ने समूहका अर्का सञ्चालक रविन अवालले जानकारी दिए। उनका अनुसार यसै वर्षभित्र भक्तपुरमा थप दुईवटा चेन पसल खोल्ने र दुई वर्षभित्र काठमाडौँ, पाटन र बनेपामा गरी पाँचवटा चेन पसल सञ्चालनमा ल्याइनेछ । उनले व्यवसायसँगै समूहको चेन पसललाई आवश्यक जनशक्तिसमेत आफैँले तयार गर्ने सोच रहेको बताएका छन ।

“दक्ष जनशक्ति पाउन समस्या छ”, उनले भने, “दक्ष जनशक्ति तयार गर्न चेन व्यवसायसँगै तालीम केन्द्र सञ्चालन गर्ने हाम्रो योजना छ ।” यसका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटीइभिटी मा प्रक्रिया अगाडि बढाइएको सञ्चालक अवाल बतान्छन । हाल सञ्चालनमा आएका पाँचवटा पसलमा २१ युवायुवतीले प्रत्यक्ष रोजगारी पाएका छन् । रासस
–––



प्रतिक्रिया दिनुहोस्