Logo

नेपाली तेक्वान्दो खेलाडीलाई रजत पदक



काठमाडौँ, २९ असार । नेपाली राष्ट्रिय तेक्वान्दो टोलीका निमा गुरुङ र निशा रावलले दक्षिण कोरियामा भएको अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा रजत पदक जितेका छन् । कोरियाको पोहाङमा बिहिबार भएकोे खेलमा फाइटतर्फ निमाले ५७ केजी मुनि तौलसमूहमा र निशालले ७३ केजी तौलसमूहमाथि नेपाललाई रजत पदक दिलाएका हुन् ।

पहिलो खेलमा बाई पाएकी निमाले दोस्रो खेलमा इन्डोनेसियाकी खेलाडीलाई १५–१२ ले हराउँदै फाइनलमा स्थान बनाएकी थिइन् । यद्यपि फाइनलमा इन्डोनेसियाकै खेलाडीसँग २२–१० ले पराजित हुँदै निमा रजत पदकमै सीमित भइन् ।

निशाले पनि फाइनलमा काजकिस्तानकी खेलाडीसँग ६–४ को प्रतिस्पर्धात्मक खेलमा पराजित भएकी थिईन। महिलाकै ६७ केजीको सेमिफाइनलमा नेपालकी संगीता बस्याल इन्डोनेसियाकी खेलाडीसँग पराजित भएपछि कास्य पदक जितिन् ।

यो पनि पढ्नुहोस्

खेलकुदलाई पहिलो प्राथमिकतामा राखिने : मुख्यमन्त्री राई

तेक्वान्दो संघका महासचिव गुरुङ सहित ३ सय ६१ खेलाडी काँग्रेसमा प्रवेश

पुरुषतर्फ पहिलो खेलमै कोरियाका खेलाडीसँग पराजित भएका नेपालका वीरबहादुर महरा र भुपेन श्रेष्ठले ‘सी’ क्याटोगरीतर्फ भने मिश्रित सफलता हात पारे । ६८ केजी तौल समूहका वीर ‘सी’ क्याटोगरीको सेमिफाइनलमा पनि कोरियाका खेलाडीसँग पराजित हुँदै कास्य पदकै सीमित भए ।

सोही क्याटोगरीकै ८० केजीमुनि भुपेनले सेमिफाइनलमा कोरियाका खेलाडीलाई १८–९ ले जित्दै फाइनल यात्रा तय गरेका थिए । तर फाइनलमा मेलेसियाका खेलाडीसँग ११–२० ले स्तब्ध भएपछि रजत पदकमै चित्त बुझाए । एजेन्सि



प्रतिक्रिया दिनुहोस्