पाँचथर, ३१ असार । फाल्गुनन्द गाउँपालिकाको तेस्रो गाउँ सभाले सडक, कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा लगायतका विषयलाई पहिलो प्राथामिकतामा दिएको छ ।
आफ्नो क्षेत्रलाई गरिबी निवारणोन्मुख गाउँपालिका बनाउन गाउँवासीलाई मिनी टिलर लगायतका आधुनिक कृषि औजार वितरण गर्ने तथा कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायिकीकरणका लागि कृषकलाई प्लास्टिक टनेल, थोपा सिँचाइ पाइप, क्यारेट, बीउबिजन आदि वितरण गरिने प्रमुख अमरकुमार नेम्बाङ्गले जानकारी दिएका छन।
यस्तै युवा तथा महिलालाई स्वरोजगारमार्फत आत्मनिर्भर बनाउने, गाउँपालिकाभित्र रहेका बाँझो जग्गाको तथ्याङ्क संकलन गरी उक्त जग्गाको उपयुक्त व्यवस्थापन र प्रयोगका लागि कृषकलाई प्रोत्साहन, खेलमैदान, अस्पताल तथा ब्यायामशाला निर्माण गरिने पनि सो अवसरमा जनाइएको थियो ।
प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङवो मौसमले उक्त सभा शुभारम्भ गर्दै अबको ५ वर्षभित्र प्रदेश नं १ लाई समृद्ध बनाएर छोड्ने बताउनु भयो ।
प्रदेश नं १ को सरकारले सडक, कृषि, पर्यटन, सिँचाइ, भौतिक पूर्वाधार विकास लगायतका विषयमा प्राथामिकता दिएर अघि बढ्नेमा जोड दिँदै उहाँले अब प्रत्येक टोलटोलसम्म विद्युतीकरण गरेर प्रदेश नं १ लाई उज्यालो प्रदेश निर्माण गर्ने चर्चा गर्नुभयो ।
मन्त्री मौसमले पाँचथरमा मात्रै रू एक अर्ब जतिको बजेट आब ०७५÷७६ का लागि विनियोजन गरेको पनि बताउनुभयो ।रासस