महोत्तरी, ३२ असार । महोत्तरी जिल्ला प्रहरीले भारतबाट बोकी ल्याएको अवैध लागूऔषध ५० ट्याब्लेट र पाँच वटा सुईसहित आइतबार साँझ दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–९ बस्ने ३५ वर्षीय जीतेन्द्रप्रसाद साह र १९ वर्षीय चन्दनकुमार झा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए ।
दुवै युवक भारतको भिठ्ठामोड शहरबाट अवैध लागूऔषध स्पान्सनो प्रोसिभोप्लस ४० पीस, नाइट्रोसन १० पीस र पेन्टाजोसिक लेक्ट सुई पाँच थानसहित नेपाल प्रवेश गर्दा जलेश्वर नगरपालिका–३ स्थित मलिवारा चोकमा प्रहरीले शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट अवैध लागूऔषध भेटिएपछिपक्राउ परेका हुन् ।
लागूऔषधसहित पक्राउ परेका दुवै युवकलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले हिरासतमा राखी आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।
दुई समूहबीच झै झगडा हुँदा ११ गम्भीर घाइते
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–९ आगेपुरमा बाटोमा पानी बगाएको विषयमा दुई समूहबीच झै झगडा हुँदा तीन महिलासहित ११ जना गम्भीर घाइते भएका छन् ।
गम्भीर घाइते हुनेमा महिलातर्फ जलेश्वर–९ आगेपुर बस्ने २६ वर्षीया नगिना खातुन, १६ वर्षीया अप्सना खातुन, ४० वर्षीया रसिदा खातुन रहेका छन् ।
त्यस्तै पुरुषतर्फ ३० वर्षीय साजिर कवारी, ५१ वर्षीय जैनुल कवारी, ११ वर्षीय सजिबुल राईन, २० वर्षीय महमुद राईन, ४० वर्षीय मुनिफ राईन, ४५ वर्षीय अजिम राईन, ५५ वर्षीय हलिम राईन र ४९ वर्षीय मुकिम राईन रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताएका छन् ।
राति १०ः३० बजे घरेलु हात हतियारसहित भएको सो घटनामा टाउको, हात, खुट्टालगायत शरीरका विभिन्न अंगमा घाउ चोट लागेर गम्भीर घाइते भएकाको अञ्चल अस्पताल जनकपुरमा उपचार भइरहेको छ । रासस