Logo

क्रोएशियाले विश्वको मन यसरी जित्यो !



धनराज वास्तविकः  काठमाठौं, ३२ असार । विश्वकप फुटबलको २१ औं संस्करण रसियामा सम्पन्न भएको छ । नेपाली समय अनुसार गत जेठ ३१ गतेबाट सूरु भएर असार ३१ गतेसम्म सञ्चालन भएको विश्वकप फुटबलमा फ्रान्स विजयी बन्यो भने क्रोएशिया उप विजेता ।

सम्पन्न विश्वकप फुटबल फाइनल खेलका बारेमा विश्वभरका मिडियाहरुले विभिन्न कोर्णबाट समाचारहरु प्रकाशित गरिरहेका छन् । विश्वमा क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्राबार–किटारोविचको चर्चा भएको कुरा पनि सबैमा जगजाएर छ ।

रसियाको राजधानी मस्कोमा भएको फ्रान्स र क्रोएशियाबीचको फाइनल खेल हेर्नका लागि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र किटारोविच पुगेका थिए । त्यस्तै फाईनल खेलमा आयोजक राष्ट्र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पनि थिए ।

म्याक्रोन, पुटिन र किटारोविचलेसँगै बसेर खेल हेरे । म्याक्रोन औपचारिक पोशाकमा थिए । विश्वकपको फाइनलमा पुगेर इतिहास बनाएको क्रोएशियाली राष्ट्रपति किटारोविच जर्सी लगाएर पुगेकी थिइन् । उनले टिमको हौसलाई बढाइन् ।

९० मिनेटको निधारित समयसँगै थपिएको अतिरिक्त समयको पाँच मिनेटको खेल सकियो, विश्वकप फ्रान्सले जित्यो । म्याक्रोनको अनुहारमा खुशीको सञ्चार भयो ।

किटारोविचलाई नमिठो पक्कै लाग्यो तर उनले फ्रान्सको खुशीमा आफ्नो खुशी साटिन् । आफ्नो देशका खेलाडीले देशको नाममा लिएर फाइनलसम्म पुगेर दिलाएको ऐतिहासिक उपलब्धीको सम्मान पनि उनको लागि खुसिकै विषय थियो ।

आमा जस्तै राष्ट्रपती !

‘आत्मघाति गोल र इभान पेरिसिकको ह्यान्ड बल’ फ्रान्सका ग्रिजमनले गरेको पेलान्टी गोल पछि मैदानमा क्रोएसियाली खेलाडी निराश बनेका थिए ।

अवार्ड वितरण समारोहको पर्खाई उनीहरुका लागि अप्ठ्यारो विषय बनिसकेको थियो । टारोविचलाई थाहा थियो, खेलाडीको उर्जा फेरि सञ्चार गर्नुपर्छ । उनलाई कुटनीतिक सम्बन्धको पनि ख्याल राम्रै थियो भन्ने सहज अनुमान गर्न सकिन्छ ।

अवार्ड वितरण समारोहका लागि फिफाका अध्यक्ष जियानी इन्फान्टिनोसहित रुसी राष्ट्रपति पुटिन, फ्रान्सेली राष्ट्रपति म्याक्रोन र क्रोएसियाली राष्ट्रपति किटारोविच एकसाथ मैदानमा आए ।

त्यसबेला पनि किटारोविचले आफ्नो सौहार्दता प्रस्तुत गरिन । म्याक्रोनको हात समातेर उनी अघि बढिन् । अवार्ड वितरण सुरु भयो । फ्रान्सका केलियन एमबाप्पेले फिफा युवा खेलाडी अवार्ड पाए । क्रोएशिया फाइनलमा पराजित हुनुमा एम्बाप्पेको उत्कृष्ट गोल पनि एक कारक थियो । तर किटारोविचले एमबाप्पेलाई सन्तान जसरी नै माया गरिन् अँगालो हालिन् ।

त्यसपछि पालो आयो आफ्नै खेलाडीहरुलाई सम्मान गर्ने । जो अत्यन्तै निराश थिए । लुका मोड्रिच प्रतियोगिताको उत्कृष्ट खेलाडीले पाउने गोल्डेन बल अवार्ड लिन अघि बढे । अवार्ड पाएको खुशी भन्दा विश्वकप जित्न नसकेको पीडा लुकाको अनुहारमा धेरै थियो ।

फिफाका अध्यक्ष, फ्रान्स तथा रुसका राष्ट्रपति हुँदै उनी आफ्नो देशकी राष्ट्रपति किटारोविचसम्म पुगे । पानी परिरहेको थियो, किटारोविचले लुकालाई धेरैबेर अँगालो हालिन् । गाला थमथमम्याइन्, लुकाको झर्दै गरेको आँसु पुछिन् ।

जसरी एक आमाले सन्तानको पीडालाई आफ्नै जसरी महसुस गर्छन । त्यसैगरी उनले लुकालाई सम्हालिन बाटो देखाइन् । किटारोविचबाट छुट्टिँदा लुकाको अनुहारमा हारको पीडा भन्दा रुसमा आफूहरुले प्राप्त गरेको ऐतिहासिक सफलता झल्किएको थियो ।

जर्सीमा रहेकी किटारोविचले क्रोएसियाका सबै खेलाडीलाई उसैगरी माया गरिन् । अँगालो हालिन्, सान्त्वना दिइन् र प्राप्त गरेको सफलताका लागि बधाई दिईन । उनले फ्रान्सेली खेलाडीलाई पनि उसैगरी स्नेह देखाइन् ।

सायद उनमा त्यो बेला राष्ट्रपति भन्दा पनि ‘आमा’ को रुप बाँचेको हुनु पर्छ । उनले सन्तानलाई आमाले गर्ने माया जस्तै बात्सल्य प्रेम देखाईन ।  मानविय आँचल फराकिलो हुन्छ रत आमाको मनमा सबै प्रकारका दुःख सुखहरु समेटिन्छन् ।

क्रोएशियाको हारमा रशियाको आकाश रोयो

निक्कै बलियो टिमका रुपमा रहेको फ्रान्सले जब क्रोएशियालाई लगातार २ गोलले अग्रता लियो त्यसपछि विश्वका फुटबल प्रेमीहरुले सहज अनुमान गर्न थाले विश्वकप फाईनलमा फ्रान्सको जित पक्का ।

४–२ मा समेटिएको फाईनल खेलको निधारित समय सकिएपछिको पाँच मिनेट अतिरक्ति समयमा पनि क्रोएशियाले १ गोलसम्म फर्काउछ कि भन्ने अनुमान थियो । उक्त अनुमान पनि पूरा हुन सकेन । क्रोएशियाका खेलाडीहरुको उत्कृष्ण प्रदर्शनले विश्वलाई तान्यो ।

खेल फ्रान्सले जित्यो, मन क्रोएशियाले । क्रोएशियाली खेलाडी लुका मोर्डिचको प्रभाशाली प्रदर्शनले विश्वका फुटबल प्रेमीहरुको ओठमा लुका झुण्डीरहेका थिए । खेल उत्कृष्ठ खेलेर मात्रै नहुने रहेछ । गोल हान्नु पर्ने रहेछ भनेर क्रोएशियाली खेलाडीहरुले विश्व विजेता फ्रान्सबाट सिक्नुपर्छ ।

फाइनल हारे तर, गोल्डेन बल जिते

फाइनलमा क्रोएसिया फ्रान्ससँग ४–२ ले हारेको थियो । तर, लुका मोडरिक उत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले गोल्डेन बल जिते ।
चार वर्ष अघि अर्जेन्टिनाका लिओनल मेस्सीको अवसथा यस्तै थियो । फाइनलमा अर्जेन्टिना जर्मनीसँग हारेको थियो तर, मेस्सीले गोल्डेन बल जितेका थिए ।

इंग्ल्याण्डका ह्यारी केनले गोल्डेन बुट जितेका छन् । उनले विश्वकप २०१८ को लागि ६ गोल गरे । यस्तै गोल्डेन ग्लोब बेल्जियमका गोलरक्षक थिबोउट कोर्टियसले जितेका छन् ।

भाग्यले धोको दिएको क्रोयसिया !

रशियामा क्रोएशियाले विश्वकप फुटबलको फाइनलमा हार्दै गर्दा विश्वका मानिसहरुले भाग्यले साथ नदिएको टिप्पणी गरिहरका छन् । पहिलोपटक प्रयोग गरिएको भीएआर सिस्टम क्रोयसियाका लागि घातक बन्न पुग्यो ।

इभान पेरिसिकको ह्यान्ड बल फ्रेन्च खेलाडीहरुको अपिलपछि भीएआरमा गयो र रेफ्रीले पेनाल्टीको निर्णय लिए । पेनाल्टीलाई गोलमा परिणत गर्दै एन्टोनी ग्रिजम्यानले फ्रान्सलाई २–१ को अग्रता दिलाए । र, अन्ततः क्रोयसियाले फ्रान्सलाई ४–२ को नतिजा सुम्पियो ।

फाइनलको दुर्भाग्यले क्रोयसियाका प्रशिक्षक जाल्ट्को डेलिकलाई लामो समय पिरोल्ने निश्चित छ । ‘विश्वकपको फाइनलमा पेनाल्टीबाट गोल खानु ठूलो दुर्भाग्य हो’ उनले भनेका छन्, ‘हामीले विश्वकपमै उत्कृष्ट प्रदर्शन गर्यौं तर भाग्यले हामीलाई साथ दिएन र सजाय भोग्यौं ।’

पेनाल्टी दिने रेफ्रीको निर्णयको उनले आलोचना भने गरेनन् । ‘म रेफ्री र म्याच अफिसियलहरुका बारेमा केही नकारात्मक टिप्पणी गर्न चाहन्न । यो उनीहरुको निर्णय हो । म भिएआरलाई सम्मान गर्छु । फुटबलका लागि यो आवश्यक छ,’ डेलिकले भने ।

फाइनलमा हारे पनि आफ्ना खेलाडीहरु उँचो शीर लिएर स्वदेश फर्किने उनले बताए । ‘विश्वकपमा विभिन्न क्षणमा हामीलाई लक नलागेको पनि होइन तर, फाइनलमा भएन । हामीले खेल आफ्नो नियन्त्रणमा राख्यौं, तर दुई गोल दुर्भाग्यपूर्ण रहे,’ उनले भने ।

तेस्रो गोल खाएपछि खेल जित्न कठिन हुने आफूले महसुस गरेको उनले बताए । ‘हामीले हार नखाइकन खेल्यौं र दोस्रो गोल गर्न सफल भयौं । तर, यो पर्याप्त थिएन,’ उनी भन्छन् । आफूले खेलाडीहरुलाई दुःखी नहुन र आफ्नो खेलमा गर्व गर्न आग्रह गरेको पनि उनले बताए ।

एम्बाप्पे बने उत्कृष्ट युवा खेलाडी

फ्रान्सका केलियन एम्बाप्पेले पेलेपछि विश्वकपको फाइनलमा गोल गर्ने युवा खेलाडी बनेका छन् । फ्रान्सले क्रोएसियालाई ४–२ ले हराएर विश्वकप जित्दा एम्बाप्पेले पनि १ गोल गरे । १९ वर्षका एम्बाप्पे पेलेपछि विश्वकपको फाइनलमा गोल गर्ने युवा खेलाडी पनि हुन् ।

सन् १९५८ को विश्वकपमा गोल गर्दा पेले १७ वर्ष २४९ दिनका थिए । यसअघि उनले विश्वकपको एकै खेलमा दुई गोलको पेलेको रेकर्ड पनि बराबरी गरेका थिए ।

यसरी हेर्दा फ्रान्सको पेलेका उपनाम पाएका एम्बाप्पे साँच्चै पेलेलाई पछ्याइहेको देखिन्छ । उनले रुस विश्वकपकै उत्कृष्ट युवा खेलाडी समेत घोषित भएका छन् ।

(नोट– विभिन्न सञ्चार माध्ययमको सहयोगसँगै निजि अनुभूतिको आधारमा तयार पारिएको साम्रगी ।)



प्रतिक्रिया दिनुहोस्