Logo

उपत्यकाका २० हलमा लाग्यो बक्स अफिस



काठमाडौं, २ साउन । सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले मंगलवार चलचित्र विकास बोर्डमा आयोजित एक कार्यक्रमकाबीच औपचारिक रुपमा उपत्यकामा बक्स अफिस प्रणालीको उद्घाटन गरेका छन् ।

चलचित्र निर्माता तथा वितरकहरुको सधैं एउटै गुनासो रहने गरेको थियो, बक्स अफिस प्रणाली लागु नहुँदा हामी मर्कामा पर्‍यौं । हल सञ्चालकहरुले ‘शो’ समेत गायब गर्ने गरेको उनीहरुको दाबी थियो । अब भने यो गुनासोबाट निर्माताहरुले छुटकारा पाउने भएका छन् ।

राजधानीका ११ वटा मल्टिप्लेक्स र ९ वटा सिंगल थिएटरमा मंगलवारबाट कम्प्युटरमार्फत टिकट काट्न सुरु भएको छ । बाँकी केहि हलमा चाँडै बक्स अफिस सिस्टम जडान गरिने चलचित्र विकास बोर्डले जानकारी दिएको छ ।

सञ्चारमन्त्री बाँस्कोटाले अर्को असार मसान्तभित्र उपत्यका बाहिर पनि बक्स अफिस लागू गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे । उनले भने, अब निर्माताले घर घडेरी डुबाउनु पर्ने दिन आउने छैन ।

कलाकारले आफ्नो मिहेनतको पारिश्रमिक पाउनेछन् । राज्यलाई कर छल्ने प्रवृतिको अन्त्य भएको छ । अब चलचित्र क्षेत्रकै अनुहार फेरिनेछ ।  मन्त्री बाँस्कोटाले अघि थपे, ‘बक्स अफिसका लागि विवाद र दबाब धेरै थिए । सपना साकार हुन्छ भन्ने प्रमाण यही हो ।’ उनले हलहरुको वर्गिकरण हुने बताउँदै विदेशी विज्ञापन बन्द गर्ने पनि घोषणा गरेका छन् ।

बक्स अफिस प्रणालीको उद्घाटन कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका विभिन्न व्यक्तिहरुको बाक्लो उपस्थिति थियो । सबैको अनुहारमा बक्स अफिस लागू हुँदाको खुसी देख्न सकिन्थ्यो । निर्माताहरु अब आफ्नो फिल्मको वास्तविक कलेक्सन एकै ठाउँबाट हेर्न पाउनेमा खुसीले दंग देखिएका थिए ।

बक्स अफिस प्रणालीको उद्घाटन कार्यक्रम पश्चात् फिल्मीखबरको टीम चावहिलमा रहेको गोपीकृष्ण हल पुग्दा फिल्म हेर्न हल पुगेका दर्शकको हातमा डिजिटल टिकट देख्न सकिन्थ्यो । टिकट काउन्टरभित्र गोपीकृष्णका कर्मचारीहरु पसिना चुहाउँदै कम्प्यूटरमार्फत् टिकट काट्न व्यस्त देखिन्थे ।



प्रतिक्रिया दिनुहोस्