काठमाडौं, ३ साउन । आखिर यो ‘बक्सअफिस’ भनेको के हो ? वा ‘बक्सअफिस’ शब्दसँग फिल्म कलेक्सन किन जोडिएको छ ? फिल्मको सफलता नाप्ने सर्वमान्य तरिका हो ‘बक्सअफिस’ ।
फिल्मले कति पैसा कमायो भन्ने यसबाट निर्माताले सजिलै थाहा पाउन सक्छन् । ‘बक्सअफिस’ सिस्टम जडान हुँदा वितरकले चुरोटको खोलमा दिने फिल्मको हिसाब किताबबाट निर्माताले छुटकारा पाउने छन् ।
‘बक्सअफिस’ शब्दको प्रयोग फिल्म र थिएटरको विजनेशका लागि हुने गर्छ । ‘बक्सअफिस’ वा ‘टिकट अफिस’, त्यो ठाउँलाई भन्छिन्, जहाँबाट सिनेमा हल वा थिएटरमा पस्नका लागि टिकट आवश्यक पर्छ । त्यही टिकटको बिक्रीको आधारमा ‘बक्सअफिस’ को कमाई निर्धारण हुन्छ ।
प्रत्येक सिंगल र मल्टिप्लेक्स हलमा कम्प्युटरजडिन भएपछि सबै तथ्यांक एउटै सर्भर र सफ्टवेयरमा आउने गर्छ । यसो हुँदा निर्माताले आफ्नो फिल्मको कलेक्सन जुनसुकै बेला एकै ठाउँबाट हेर्न सक्नेछन् ।
नेपालमा सुविधासम्पन्न मल्टिप्लेक्सले आफ्नै किसिमले कम्प्युटरजडित बक्स अफिस सञ्चालन गरिरहेको भएता पनि सिंगल थिएटरमा यो प्रयोगमा थिएन । ‘बक्सअफिस’ सर्भरको पहुँच चलचित्र विकास बोर्ड, निर्माता, हल सञ्चालक, वितरक र कर कार्यालयमा हुनेछ ।