Logo

कैदी बन्दीले पाएनन सेवासुविधा



जाजरकोट, ३ साउन । जाजरकोट कारागारका कैदीबन्दीले रासन, सिदा खर्च, लत्ताकपडा भत्ता, औषधोपचार, स्वच्छ खानेपानी, मनोरञ्जनका सामग्री तथा सुविधाबाट वञ्चित भएको बताएका छन्  ।

खल्तीमा पैसा नहुँदा उपचार पाउनबाट वञ्चित हुनुपरेको थुनुवा बलबहादुर मल्लले बताएका छन  । कैदीबन्दीको औषधोपचारमा कारागार शाखाले बेवास्ता गरेको उनको आरोप छ । खल्तीमा पैसा हुनेको उपचार हुने तर नहुनेको उपचार नै नहुने गरेको उनको भनाइ रहेको छ ।

बिरामी कैदीबन्दीले औषधोपचार गरेको बिल पेस गर्दा पनि भुक्तानी नपाएको मल्लको भनाइ छ । “दुई सातासम्म धारोमा पिउने पानी नआउँदा पनि कसैले वास्ता गर्दैनन्,” उनले भने, “रासन तथा सिदा खर्च चार÷पाँच महिना बित्दासमेत पाउन सकिएको छैन ।”

लत्ताकपडा भत्ता वर्षमा दुईपटक पाउनुपर्नेमा एकपटक मात्र दिने गरेको र उक्त सुविधा अन्य कारागारको भन्दा निकै कम उपलब्ध हुने गरेको कैदीबन्दीको गुनासो छ । लत्ताकपडा भत्ता अन्य कारागारमा दुई हजारका दरले पाइने भएपनि जाजरकोट कारागारमा रु ७५० मात्र पाइने उनीहरूको गुनासो छ । कारागारका कर्मचारीले कैदी र थुनुवालाई अपहेलना गर्ने गरेको कैदी निमबहादुर सिंहले बताउन्छन ।

यो पनि पढ्नुहोस्

जाजरकोटका ४६० बालबालिका जोखिममा

जाजरकोटमा तलव नपाएका स्वास्थ्यकर्मीद्धारा आन्दोलन

केही कर्मचारीले कैदीबन्दीलाई तल्लो दर्जाको नागरिक सम्झेर अश्लील शब्द प्रयोग गर्ने गरेको उनको भनाइ छ । “कारागारमा कसैलाई पनि सम्मानजनक व्यवहार भएको छैन,” उनि भन्छन, “सेवासुविधाको अभाव तथा सम्मानपूर्वक व्यवहार नपाउँदा तनावमा बस्न बाध्य छौँ ।” कैदीबन्दीलाई तरकारीलगायत दैनिक उपभोग्य वस्तुको मूल्य चर्को भएको उनको गुनासो रहेको छ ।

कैदी एक प्याकेट सुर्तीको रु ७० मूल्य तिर्न बाध्य भएको सिंहले जनाए  । सम्बन्धित प्रशासनलाई रु १० हजार घुस दिएर मात्र चौकीदार तथा नाइके बन्न पाउने प्रचलन रहेको कैदीबन्दीको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरीक्षकलगायत उच्च तहका कर्मचारी एकपटक पनि कारागारमा नआएको उनीहरू बताउँछन् । जिल्ला प्रशासनलगायत निकायले कैदी बन्दीको समस्याप्रति बेवास्ता गरेको कैदीबन्दीको गुनासो छ । उनीहरूका अनुसार कैदीबन्दीले जायज माग गर्दा पनि सरुवा गरिदिने, कैद सजाय थपिदिने, धम्की आउनेलगायतका समस्या छन् ।

कैदी तथा थुनुवाले अनावश्यक निहुँ खोजेर कारागार प्रशासनलाई समस्यामा पार्ने गरेको जेलर तेजविक्रम शाहले बताए । २० जना अटाउने क्षमताको जाजरकोट कारागारमा ५७ जना कैदी तथा थुनुवा कोचाकोच गरेर बस्न बाध्य छन् । कारागारमा कैदीबन्दीका लागि दुई मात्र कोठा छन् । एउटै कोठामा ३० जना कैदी लाइन लागेर सुत्न बाध्य छन् ।

कारागारको निर्माणाधीन भवन सम्पन्न नहुँदा कैदीबन्दीलाई समस्या भएको जेलर शाहले बताउन्छन  । कारागार प्रशासनका अनुसार अहिले ४८ कैदी र एक महिलासहित नौजना थुनुवा छन् ।रासस



प्रतिक्रिया दिनुहोस्