Logo

डोटीमा एकै परिवारका ४ जनाले सेतीमा हाम फाले



काठमाडौं, ५ साउन । डोटीमा एकै परिवारका चार जनाले सेतीमा हाम फालेका छन् । डोटीको आदर्श गाँउपालिकामा एकै परिवारका चार जनाले सेती नदीमा हाम फालेका हुन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सेती नदीमा हाम फाल्नेमा बम बहादुर बोहराकी श्रीमती सहित दुई छोरा र एक छोरी हुन् ।

हाम फालेकामध्ये ६ वर्षीय सुनिल वोहरालाई सेती नदीमा माछा मार्दै गरेका मानबहादुर विकले बचाउन सफल भएका छन् भने अन्य तीन जना बेपत्ता छन् । बोहराकी २८ वर्षीया श्रीमती धौली बोहरा, १२ वर्षीया छोरी राधिका बोहरा, ८ वर्षीय छोरा सुरेन्द्र बोहरा र ६ वर्षीया छोरा सुनिल बोहराले सामूहिक रुपमा सेती नदीमा हाम फालेको इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी सहायक निरीक्षक डबलबहादुर कठायतले बताए ।

परिवारका चार सदस्यले सेती नदीमा सामूहिक रुपमा किन हाम फाले भन्ने विषयमा छानविन तथा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डिएसपी लालबहादुर धामीले बताए । प्रहरी टोलीले घटनास्थलमा अनुसन्धान गरिरहेको छ । के कारणले हाम फालेका हुन अनुसन्धान पछि मात्रै सबै कुरो भन्न सकिने उनले बताए।

जिल्ला प्रहरी कार्यालयले घटनासम्बन्धी अनुसन्धान र बेपत्ताको खोजी कार्य गरी रहेको जनाएको छ । घटनास्थल डोटीको तलारा र बैतडीको ढुंगाड क्षेत्रमाको सीमाक्षेत्रमा पर्दछ। घटना स्थल पुग्न बोहराको घर देखी ४ घण्टाको पैदल यात्रा गरेपछि मात्र पुगीन्छ ।



प्रतिक्रिया दिनुहोस्