Logo

काठको पोल विस्थापन गरिने



काठमाडौँ, ६ साउन । बिजुलीको नांगो तारका कारण देशव्यापीरुपमा नै नागरिकको अकालमा ज्यान जान थालेपछि सरकारले चासो व्यक्त गरेको छ ।

धादिङ, रामेछापलगायत देशका विभिन्न स्थानमा बिजुलीको नांगो तारले छोएर पछिल्ला दिनमा मात्रै चार जनाको ज्यान गएपछि सरकारले उक्त घटना दुःखद् रहेको भन्दै चासो व्यक्त गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नांगो तारका कारण नागरिकको अकालमा ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै आगामी दिनमा त्यस्तो दुर्घटना दोहारिन नदिन र पीडित परिवारलाई आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्नसमेत सम्बद्ध निकायलाई निर्देशन दिएका छन. ।

उक्त घटनाप्रति ध्यानाकर्षण जनाउँदै ऊर्जामन्त्री पुुनले आइतबार नै ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ, सामुदायिक विद्युत् उपभोक्ता महासंघका अध्यक्ष नारायण ज्ञवालीसँग छलफल गरेको छ।

मन्त्री पुनले काठ र स्टिलका पोलका कारणले मानवीय क्षति बढिरहेको भन्दै तत्काल समस्याको समाधान गर्न निर्देशन दिएका हुन । मन्त्री पुनले विद्युतीकरणको सुरक्षाको पाटोलाई ध्यान दिन पनि आग्रह गरेका छन।

विद्युतीकरणमा गुणस्तरहीन कामसमेत हुने गरेको उल्लेख गर्दै ऊर्जामन्त्री पुनले गुणस्तरयुक्त काम बनाउने दिशातर्फ ध्यान दिन पनि निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

मन्त्री पुनले काठको पोल प्रयोग गरेको कारण भएका मानवीय क्षतिलाई कम गर्न र देशभर काठका पोल विस्थापित गर्न मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने जानकारीसमेत दिएका छन ।

छलफलमा सहभागीहरुले आ–आफ्नोतर्फबाट विषयको गम्भीरतालाई मूल्यांकन गरी काम गर्ने र दुर्घटनाबाट जोगाउने प्रतिबद्धता जनाएका थिए। रासस



प्रतिक्रिया दिनुहोस्