Logo

सामान्य अंकले बढ्यो शेयर बजार



काठमाडौँ, ८ साउन । अनलाइन कारोवार प्रणाली सञ्चालनमा आएपछि केही दिन अन्योलमा रहेका लगानीकर्तालाई सामान्य त्राण दिने गरी शेयर बजारमा सुधार आएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज शेयर कारोवार मापक परिसूचक नेप्से ४।७७ बिन्दुले बढेर एक हजार १९९।२७ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक १।३६ बिन्दुले बढेर २५२।६८ बिन्दुमा पुगेको छ ।

स्टकले यही साउन १ गतेदेखि अनलाइन कारोवार प्रणाली लागू गरेको छ । त्यस्तो व्यवस्थाका लागि धितोपत्र दलाल व्यवसायीकहाँ गएर ‘युजरनेम’ र ‘पासवर्ड’ लिने प्रक्रिया जारी रहेको छ ।

आज कूल १६० कम्पनीको ११ लाख ८९ हजार ६८९ कित्ता शेयर रु २९ करोड ४१ लाख ८२ हजार ३४८ मूल्यमा खरीद बिक्री भएको छ । सोमबारको तुलनामा आज कारोवार रकममा वृद्धि भएको छ । सोमबार रु १८ करोड ६५ लाख २६ हजार ५३५ मूल्यमा खरीद बिक्री भएको थियो ।

स्टकका अनुसार दुई उपसमूहको शेयर कारोवार घटेको छ भने नौ उपसमूहको शेयर कारोवारमा बढोत्तरी भएको छ । बैंकिङ ५।२६, व्यापार ०।४२, होटल ४९।४२, विकास बैंक २।८५, जलविद्युत् ३।२४, वित्त २।५९, निर्जीवन बीमा १९।८९, अन्य २।२६, बीमा २०।६१ बिन्दुले बढ्दा उत्पादन १९।७४ र माइक्रोफाइनान्स समूह ०।७ बिन्दुले घटेको छ ।

भार्गवले बोनस शेयर दिने

भार्गव विकास बैंकले आर्थिक वर्ष २०७३÷७४ सम्मको सञ्चित मुनाफाबाट रु दुई करोड ६४ लाखबराबरको बोनस शेयर तथा रु १३ लाख ८९ हजार ४७३ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको छ । सो बैंकले रु ४७ करोड ५२ लाखको ५।५५ प्रतिशत बोनस शेयर दिन लागिएको जानकारी स्टकलाई गराएको छ ।

नेपाल राष्ट्र बैंकले सो बैंकलाई ‘ख’ वर्गको इजाजत दिएको छ भने बाँके, बर्दिया र दाङ जिल्लालाई कार्यक्षेत्र बनाएको छ । बैंकको यही साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले बोनस र नगद लाभांश दिने निर्णय गरेको हो । रासस



प्रतिक्रिया दिनुहोस्