Logo

उपप्रधान तथा स्वास्थ्यमन्त्री यादव स्वदेश फिर्ता



काठमाडौं, ११ साउन । उपप्रधान तथा स्वास्थ्य एवं जनसंख्या मन्त्री उपेन्द्र थाइल्याण्डको भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता भएका छन् ।

मंगलबार त्यसतर्फ प्रस्थान गरी आज शुक्रबार स्वदेश फर्किएका उपप्रधान मन्त्री यादवले बैंकक भ्रमणका क्रममा भएको उच्चस्तरीय वार्तामा स्वास्थ्य र शिक्षा क्षेत्रमा दुबै मुलुकले एकआपसमा सहयोग, सहकार्य गर्ने सहमति भएको उल्लेख गरे ।

‘नेपालका मेडिकल कलेजहरूको स्तरोउन्नति, स्वास्थ्य सेवा प्रदान, उच्चस्तरीय नर्सिङ तालिम प्रदान गर्ने सहमति भएको छ’, उनले भने,‘नेपालका अस्पतालहरूलाई आधुनिकीकरण गर्नेबारेमा पनि सहमति भएको छ ।’

थाइल्याण्ड सरकारले नेपालमा चिकित्सा विज्ञान क्षेत्रमा अध्ययनका लागि सहयोग गर्ने आश्वासन दिएको यादवले बताएका छन । उनले भने,‘युनिभर्सल हेल्थ कभरेजको लक्ष्य प्राप्त गर्न नेपाललाई सहयोगका साथै स्वास्थ्य तथा शिक्षा क्षेत्रमा मिलेर काम गर्ने सहमति भएको छ ।’

नेपाली विद्यार्थीलाई चिकित्सा विज्ञान, नर्सिङ लगायतका क्षेत्रहरूमा अध्ययन र तालिमको लागि सहयोग गर्ने सहमति भएको जनाउँदै मन्त्री यादवले भने, ‘महिडोल विश्वविद्यालयले नेपाली विद्यार्थीलाई चिकित्सा क्षेत्रमा अध्ययन तथा छात्रबृत्ति लगायत अन्य सहयोग प्रदान गर्ने सहमति भएको छ । थाइल्याण्ड सरकार पनि सकारात्मक छ ।’

मन्त्री यादवले आफ्नो भ्रमण र वार्तालाई थाइल्याण्ड सरकार ठूलो महत्व दिएको पाएको उल्लेख गरे । ‘थाइल्याण्ड सरकार र महिडोल विश्वविद्यालयले हाम्रो भ्रमणलाई उच्च प्राथमिकताका साथ महत्व दिएको पायौँ’, उनले भने ।

थाइल्याण्ड सरकारसँग भएको वार्ता र सहमतिले नेपालको चिकित्सा विज्ञान र शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने स्वास्थ्यमन्त्री यादवले विश्वास व्यक्त गरेका छन् ।

थाइल्याण्डका स्वास्थ्य मन्त्रीले पनि नेपालले चाहेको खण्डमा स्वास्थ्य र शिक्षा क्षेत्रका विषयमा थाइल्याण्ड सरकार सहयोग गर्न तयार रहेको बताएका थिए । ‘स्वास्थ्य क्षेत्रमा अध्ययन अनुसन्धन तथा स्वास्थ्य क्षेत्रका सम्पूर्ण गतिविधिमा सहयोग गर्न तयार छौं’, थाइल्याण्डका स्वास्थ्य मन्त्रीको भनाइ उदृत गर्दै मन्त्री यादवले भने, ‘दुवै देश मिलेर काम गरौं । नेपालका विश्वविद्यालयलाई हरेक विषयमा सहयोग गर्न थाई सरकार तयार छ ।’

मन्त्री यादवले नेपाल र थाइल्याण्डबीच वर्षौदेखिको सम्बन्ध रहिआएको समेत उल्लेख गरेका थिए । उनले राजा जनकका साथै लुम्बिनी र भगवान बुद्धकोले पनि दुई देशलाई जोडेको बताए ।

थाइल्याण्डको महिडोल विश्वविद्यालयमा आयोजित सम्मेलनमा भाग लिन उपप्रधान एवम् स्वास्थ्यमन्त्री यादव गत मंगलबार त्यसतर्फ प्रस्थान गरेका थिए ।

महिडोल विश्वविद्यालय बैंककको औपचारिक निमन्त्रणमा भएको सो भ्रमणका क्रममा थाइल्याण्डका तर्फबाट स्वास्थ्यमन्त्री इमेरिटस पियासाकोल, शिक्षामन्त्री उडम कचिन्टर्न, शिक्षासचिव मायारा कुशुम, महिडोल विश्वविद्यालयका पदाधिकारीसँग वार्ता भएको थियो । स्वास्थ्य मन्त्री यादवले महिडोल विश्वविद्यालयको सम्मेलनलाई सम्बोधन पनि गरेका थिए ।

थाइल्याण्ड भ्रमणमा नेपालको तर्फबाट उपप्रधान तथा स्वास्थ्य एवम् जनसंख्यामन्त्री उपेन्द्र यादव तथा काठमाडौं विश्वविद्यालयका डीन प्रा.डा. राजेन्द्रप्रसाद कोजू लगायतको प्रतिनिधिमण्डल सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्