कञ्चनपुर, १२ साउन । वेदकोट नगरपालिकामा १० पक्की पुल निर्माण तीव्ररुपमा अगाडि बढेको छ ।
आव ०७४÷७५ मा निर्माण प्रारम्भ भएका पुलको ३० देखि ७० प्रतिशतसम्म काम सम्पन्न भएको छ । नगरपालिका वडा नं ४ बैतडा– घटाल थान जोड्ने दैजी खोलामा रु २२ करोड ६५ लाख १९ हजार ८६३ मा पुल निर्माण अगाडि बढेको छ । सो पुल निर्माण ७० प्रतिशत पूरा भएको छ । नगरपालिका वडा नं ५ पोलखरी र वडा नं ६ सिसैया जोड्ने चौधर नदीमा रु ११ करोड ४६ लाख ६० हजार ६० को लागतमा निर्माण शुरु गरिएको पुल ३५ प्रतिशत पूरा भएको छ ।
यसैगरी नगरपालिकाको वडा नं ६ मुसेपानी र वडा नं ७ गाउजी पुलती बजार जोड्ने पुल रु १७ करोड ४१ लाख ७४ हजार ५३, वडा नं ३ वेदकोट नदीको खलगौडीमा रु चार करोड ७६ लाख ५५ हजार ८९५, वडा नं ३ कै भम्का र वडा नं ४ विजयनगर जोड्ने साजगाडमा रु १२ करोड २८ लाख ४० हजार ९७५ तथा वडा नं २ जडेपानी र वडा नं ३ जोडन राधा नदीमा रु पाँच करोड १२ लाख १५ हजार ८४८ को लागतमा पुल निर्माण भइरहेको नगर प्रमुख अशोककुमार चन्दले बताएका छन । उनका अनुसार निर्माणाधीन पुलको ३५ प्रतिशत काम पूरा भएको छ ।
यसैगरी नगरपालिकाको वडा नं १ हात्तीथला र वडा नं २ को जडेपानीको पथरिया नदीमा रु ७२ करोड २० लाख ६७ हजार ६२१, वडा नं ३ र वडा नं २ वसन्तथला जोड्ने रु एक करोड ५५ लाख, वडा नं १० को बल्मा नदीमा रु नौ करोड ५७ लाख ३३ हजार ४३९ र वडा नं १० कै नयाँ गाउँ र भीमदत्तनगरपालिका १९ जोड्ने कनकट्टी खोलामा रु छ करोड ४९ लाख ७१ हजारको लागतमा पक्की पुल निर्माणका काम भइरहेका छन् ।
पुल निर्माण भएपछि नगरपालिकाका बासिन्दाले सहज रुपमा जीवयापन गर्न पाउने र नदी तर्नु पर्ने झण्झटबाट मुक्ति पाउने नगर प्रमुख चन्दले भने, “पुल निर्माणले सबैको शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रमा सहज पहुँच पुग्ने विश्वास लिएका छौँ ।” नगरपालिकाका अन्य नौ स्थानमा समेत पुल निर्माणका लागि पहल भइरहेको छ । माटो परीक्षण गरी पुल निर्माणका लागि प्रक्रिया अगाडि बढाइएको छ ।
यस्तै वडा नं १ को चम्फापुरको राधा नदी, वडा नं २ को पथरिया नदी र वडा नं १० को चथरीमा झोलुंगे पुल निर्माण भइरहेको छ । पाँच स्थानका लागि झोलुंगे पुल निर्माणको माग आएको बताउँदै नगर प्रमुख चन्दले, “पुल निर्माणका लागि प्रक्रिया अगाडि बढाएका छौँ ।” भनेका छन ।
वैकल्पिक मार्गको काम दु्रत
नगरपालिकाले प्रदेश नं ७ का पहाडी सात जिल्ला जोड्ने वैकल्पिक छोटो दूरीको सडक निर्माणलाई समेत अगाडि बढाएको छ । नगरपालिकाको वडा नं ३ बाट शुरु भएको दैजी–बुडर सडकखण्ड दैजीदेखि छेला बजारसम्म कालोपत्रे भइसकेको र छेला बजार औद्योगिक क्षेत्रबाट लिप्ना कञ्चनपुर वेदकोटको सिमाना डडेल्धुरा पर्शुराम नगरपालिकाको सीमा पानीढाल लिपनासम्म कालोपत्रे पिच बनाउन ठेक्का भइसकेको नगर प्रमुख चन्दले जनाए।
“विसं २०७६ असोजभित्र काम सम्पन्न गर्नुपर्ने कार्यादेश रहेको छ”, उनले भनेका छन। सडक निर्माणको कूल लागत रु २७ करोड ६३ लाख २९ हजार २७३ छ ।
सात खानेपानी आयोजना निर्माण हुँदै
नगरपालिकामा एकै साथ सात ठूला खानेपानी आयोजना निर्माण अगाडि बढाइएका छन् । नगरपालिका वडा नं १ मा हात्तीथला खानेपानी तथा सरसफाइ आयोजना रु १२ करोड ४० लाख, वडा नं २ मा झरना खानेपानी तथा सरसफाइ आयोजना रु नौ करोड ९९ लाख, वडा नं ३ मा दैजी खानेपानी तथा सरसफाइ आयोजना रु १३ करोड ५३ लाख, वडा नं ४ मा धरमपुर खानेपानी तथा सरसफाइ आयोजना रु पाँच करोड र वडा नं ६, ७ र ८ मा सुडा टाउन खानेपानी तथा सरसफाइ समिति रु ३३ करोडमा निर्माण भइरहेका छन् ।
यसैगरी वडा नं ९ मा बैजनाथ सुडा खानेपानी उपभोक्ता तथा सरसफाइ आयोजना रु छ करोड र वडा नं १० मा नवदुर्गा खानेपानी तथा सरसफाइ आयोजना रु ५९ लाखमा निर्माण अगाडि बढाएको छ ।
निर्माण प्रारम्भ भएका खानेपानी आयोजनाबाट १० हजारभन्दा बढी बासिन्दा लाभान्वित हुनेछन् । खानेपानी आयोजनाबाट झण्डै २३ लाख २५ हजार लिटर शुद्ध पेयजल बासिन्दालाई उपलब्ध हुने नगर प्रमुख चन्दको भनाइ छ ।
चालू आवमा निर्माण सञ्चालन हुने गरी नौ खानेपानी आयोजनाको सर्भेको कार्य पूरा गरिएको छ । पुराना खानेपानी आयोजनाको मर्मतसम्भारको कार्यसमेत भएको बताउँदै नगर प्रमुख चन्दका अनुसार “लाइन र धारा विस्तारको कार्य समेत पूरा गरिएको छ । अतिगरीब तथा विपन्न परिवारलाई खानेपानीका ७२ वटा हेण्डपम्प पनि वितरण गरिएको छ । सर्वसाधारणको सरसफाइमा टेवा पु¥याउनका लागि ८७ वटा शौचालय निर्माण गरिएका छन् । शौचालयसँगै अनुदानमा २२ वटा गोबर ग्याससमेत जडान गरिएका छन् ।” रासस