Logo

जनताका सच्चा नेता भीमदत्त पन्त



कञ्चनपुर, १७ साउन । ‘कि त जोत हलो कि त छोड थलो, यदि हैन भने अब छैन भलो’ भन्ने नारा दिएर किसानका पक्षमा सामन्तविरुद्ध सशस्त्र आन्दोलन गर्दै जीवनको आहुति दिएका क्रान्तिकारी नेता भीमदत्त पन्तलाई शब्दमा मात्रै चिन्ने गरिएको छ ।

पन्तका आदर्श र क्रान्तिमा उठाइएका मागलाई अगाडि नबढाइँदा किसान, सुकुम्बासी, विपन्न, दलितलगायत समुदायले न्याय पाउन सकेका छैनन् । नेता पन्तलाई आदर्श मान्दै आएका राजनीतिक पार्टीले सडकमा हँुदा उनलाई सम्झने र सत्तामा गएपछि बिर्सने परिपाटीले गर्दा भूमिहीनलगायत उपेक्षित समुदायले न्याय पाउन नसकेको भूमिअधिकारकर्मी रामबहादुर चुनाराले बताए ।

दलहरुमा आदर्शभन्दा सत्ता साँठगाँठलाई महत्व दिने प्रवृत्ति बढेका कारण र किसानलाई उपेक्षा गर्दै आएकाले पनि पन्तका सपना पूरा हुने नसकेको बताउँदै उनले भने, “भीमदत्तलाई शहीद घोषणा गरेर मात्र सम्मान भएको मान्न सकिँदैन । सच्चा सम्मान गरेको तब मानिने छ, जब उनले उठाएको मुद्दा सम्बोधन हुनेछ ।”

भूमिहीन, सुकुम्बासी, बाढीपीडित, हलिया, मुक्तकमैया, आरक्षपीडित, ऐलानीबासी, र किसानले जग्गा र जग्गाको अधिकार पाए मात्रै पिछडिएका जाति र समुदायले न्याय पाउने उहाँले बताउनुभयो । उनले भने, “गरीबलाई खाना, बास, सुरक्षा, शिक्षा, उपचार र रोजगारीको ग्यारेण्टी गर्नु भीमदत्त पन्तलाई सम्मान गर्नु हो ।”
पन्तका स्वराज, स्वाभिमान, आत्मनिर्भर अर्थतन्त्र, कृषिमा आधुनिकीरणलगायत माग अहिले पनि आत्मसात् गर्न सकिने खालका रहेको प्रा लोकराज भट्टले बताएका छन ।

किसान नेता पन्तले गरेको आन्दोलन र उठाएका माग जनतादेखि नेताहरुका मानसपटलमा रहे पनि कार्यान्वयन गर्ने आँट अहिलेसम्म देखिएको छैन । उनले भने, “कृषिलाई निर्वाहमुखीभन्दा व्यवसायीमुखी बनाइए प्रदेशकै कायापलट हुनसक्छ तर विडम्बना अहिलेसम्म त्यस्ता नीति र कार्यक्रम कार्यान्वयन हुन सकेका छैनन् ।”

डडेल्धुराको कारीगाउँमा विसं १९८३ मंसिर १० गते उनी आमा सरस्वती र बुवा तारनाथका सुपुत्रका रुपमा जन्मिएका थिए । विसं २०१० साउन १७ गते बुडरको गइलेक भन्ने ठाउँमा मगरका घरमा खाना पकाउन लागेका बेला टाउको काटेर उनको हत्या गरिएको थियो । काटेको टाउको बाँसको टुप्पामा झुण्ड्याई राजद्रोहीलाई यस्तै हुन्छ भन्ने प्रचार गरियो ।

पन्तले सामन्तीप्रथा उन्मूलन र छुवाछुतविरुद्धको आन्दोलन सशक्त रुपमा उठान गरी चेतना छर्ने कार्यका लागि सशस्त्र आन्दोलनको शुरुआत गरेका थिए । उनका सामन्तका घरबाट तमसुक फाड्ने तमसुक फट्टाकाण्ड, ब्रह्मदेव नुनकाण्ड चर्चित थिए । सामन्तलाई लक्ष्य गरी नेता पन्तले लगाउने गरेको कि त जोत हलो यदि हैन भने छाड थलो भन्ने नारा त्यस बेला जनजिब्रोमा झुण्डिएको थियो ।

उत्तरप्रदेश भारतको सिंहाईबाट संस्कृत विषयमिा हाइस्कूलसम्मको अध्ययन गरेका पन्तलाई गीता र माक्र्सवादको राम्रो ज्ञान थियो । यसले नै उनमा राजनीतिक स्वभाव बढायो । सामन्ती संस्कारविरुद्ध आफ्नै घरबाट विद्रोह गर्ने व्यक्ति पन्त नै थिए । अन्याय र सामाजिक भेदभाव सहन नसक्ने पन्तले विसं २००७ देखि आन्दोलनको शुरुआत गरे । त्यस बेला उनलाई भीमदत्त काँग्रेस भन्ने गरिन्थ्यो ।

अन्याय गर्नेलाइ दण्डसजाय । गरीब, दलित, जनजाति र किसानलाई सङ्गठित गरी राणाविरोधी आन्दोलनमा समेत पन्तको ठूलो भूमिका रह्यो तर २००७ सालको राजनीतिक परिवर्तनपछि काँग्रेसले गरेको व्यवहार उनलाई मन परेन । उनले क्रान्ति पूरा भएको छैन भनी राणासित मिलेर बनेको सरकारको विरोध गरे । परिवर्तनका पक्षमा स्पष्ट अडान भएका पन्तले दलित, मगर र थारुहरु सङ्गठित गरी मुक्ति सेना गठन गरे । नेपालगञ्जका गौरीलाल र रुपसिंह सेनाका कमाण्डर थिए । दक्षिण भारतका कृष्ण स्वामी एंगर योजनाकार थिए । गर्बु थारु र लवरा थारु मन्त्री थिए ।

किसानलाई बेदखल गर्ने, उनीहरुको नाममा जाली तमसुक बनाउने र श्रमशोषण गर्ने ठालुहरुलाई उनले कारवाही गर्न थाले । उनीहरुलाई दलितको भान्सामा खाना खान लगाउँथे । उनको क्रान्ति विरोध गर्ने र कारवाही गर्नेमा मात्र सीमित थिएन । गरीबहरु संगठित हुनुपर्छ, अन्न खेर फाल्नु हुँदैन, उत्पादन बढाउनुपर्छ, अनावश्यक खर्च घटाउनुपर्छ, प्रकृति बिग्रने काम गर्नु हुँदैन जस्ता कुरामा पनि उनले सचेतना अभियान चलाएका थिए ।

सुदूरपश्चिम र मध्यपश्चिमका अधिकाँश जिल्लामा भ्रमण गर्दा गरीबले नूनसमेत खान नपाएको थाहा पाएर उनले नून आन्दोलनको घोषणा गरे । कञ्चनपुरको ब्रह्मदेवमा भएको गोदामबाट गरीबलाई नुन र कपडा वितरण गरे । त्यति नै बेला गड्डाचौकी भन्सारमा उनलाई समातियो र हातखुट्टा बाँधेर नेपालगञ्ज पु¥याइयो । भागेर ज्यान बचाई कञ्चनपुर आए । उनले आफ्ना बुवालाई पनि सामन्त भएको बताई घरमा भएका तमसुक च्याते, जलाइदिए ।

मालअड्डामा भएका मूठहरु जलाइदिए । त्यसपछि बडाहाकिम मोहनबहादुर सिंहलाई हटाएर आफू बडाहाकिम भई बसे । क्रान्तिमा सहयोग गर्नेहरुलाई कर्मचारी बनाए । चार महीनासम्म उनले शासन चलाए । उनले बेलौरीमा बंैक कब्जा गरी त्यहाँबाट लिइएको पैसा सैनिकलाई तलब दिएर बाँकी कमैया र हलियालाई सहयोग गरे । उठ जागरे, नेपाली नवजवान जागरे, नेपालमा तम म, नेपाल देशलाई स्वतन्त्र बनाऊँ रे भन्ने उनको देशभक्ति गीत थियो ।

सरकारले पन्तलाई पटक पटक काराबास हाल्यो । त्यसबाट पनि पन्त विचलित नभएपछि मार्ने षडयन्त्र गरी भारतीय सैनिकसमेत बोलाइयो । पन्त बेलौरी कब्जा गरी धनगढी कब्जा गर्ने तयारी साथ हिँडिरहेका बेला भारतीय सैनिकले घेरामा पारे । उनी त्यहाँबाट बच्न सफल भई केही सैनिकका साथ निंगाली, सहजपुर हुँदै डोटी बुडर पुगे । सबैलाई सुरक्षित बाहिर निकाल्न नसक्दा धेरै सैनिक मारिए । विसं २०१० साउन १७ गते बुडरको गइलेकमा मगरका घरमा खाना पकाउन लागेका बेला गोली हानियो र पछि टाउको काटी मारियो । टाउको लगेर बडाहाकिम सिंहलाई बुझाइयो । काटिएको टाउको बाँसको टुप्पामा झुण्ड्याई राजद्रोहीलाई यस्तै हुन्छ भन्ने प्रचार गरियो ।

किसान आन्दोलनको नेतृत्व गरी सबै दलका आदर्श बनेका पन्त लामो समयपछि शहीद घोषित गरिएका थिए। विसं २०७२ फागुनमा सरकारले पन्तसहित किसान विद्रोहका २२ नेतालाई शहीद घोषणा गरेको छ । पूर्वउपसभामुख भोजराज जोशी पन्तका सपनालाई साकार बनाउनका लागि सरकारले जनमुखी योजना ल्याई देशलाई अग्रमगमनतर्फ डो¥याउनुपर्ने बताउन्छन।

पन्तको शालिकमा फूलमाला चढाएर मात्रै उनले देखेका सपना पूरा नहुने भएकाले नीति, योजना बनाई कार्यान्वयन गर्ने दृढ निश्चयको खाँचो रहेको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले जनकारी गराए । रास



प्रतिक्रिया दिनुहोस्