Logo

जाजरकोट पहिरो : बाआमा जोगिए, छोराछोरी पुरिए



काठमाडौं २१ साउन । सधैं झै प्रेम परियारकी श्रीमतीले चिया पकाइन्। घरका सबैले चिया खाए। छोरालाई ‘राम्रोसँग पढेस् बाबु’ भनेर श्रीमान-श्रीमती कपडा सिलाउन बजार निस्किए।

बजार पुगेर कपडा सिलाउन थालेको १५ मिनेट भएको थियो। पहिरो गएको हल्लीखल्ली भयो। दौडिएर कोठामा पुगे। तर छोरा भेटेनन्। छोरा बसेको घर नै पहिरोले पुरेपछि उनीहरु आत्तिए। उनीहरु जति आत्तिए पनि प्राकृति विपत्तिलाई जित्न सकेनन्। छोराको प्राण पहिरोले लिएरै छाड्यो।

सेना, नेपाल र सशस्त्र प्रहरीसँगै स्थानीयले करिब पाँच घण्टा लगाएर पहिरो पन्छाए। छोरा नरेन्द्र परियार मृत अवस्थामा भेटिए। ‘आफू पढ्न नसके पनि छोरालाई धेरै पढाएर ठूलो मान्छे बनाउने सपना थियो तर दैवले चुडेर लग्यो’, प्रेमले भावविह्ल हुँदै भने, ‘छोराले पेन्सिल ल्याइदिनु बुबा भनेको थियो। अब कहिलै नफर्कने गरी गयो।’ छोराको शोकमा प्रेमकी श्रीमती पटक–पटक मुर्छा पर्दै होसमा फर्किएकी छिन्।

स्थानीय एक निजी विद्यालयको चार कक्षामा पढ्ने १३ वर्षीय नरेन्द्र परियार नजिकै रहेको साथीको घरमा होमवर्क गर्न भनेर गएका थिए। नरेन्द्रको मामाको छोरा ११ बर्षको नविन परियार पनि उनीसँगै साथीको डेरामा थिए।

उनीहरुसँगै १२ वर्षीय गोविन्द नेपाली र ८ वर्षीय दशरथ नेपालीसहित चारजना एउटै कोठामा बसेर होमवर्क गरिरहेका थिए। आइतबार बिहान ८ बजेतिर करिब एक सय मिटर माथिबाट आएको पहिरोले उनीहरु बसेको घर छोपेको हो।

नगलगाड ३ करुवाका गोविन्द र दशरथ दुवै आमाबाबु गुमाइसकेका बालक हुन्। उनीहरु दिदीसँग भेरी ३ ठाँटीमा डेरामा बस्दै थिए। गोविन्द अझै भेटिएका छैनन्।

त्यस्तै नेपाल पत्रकार महासंघ जाजरकोट शाखाका सदस्य तथा क्रान्तिकारी पत्रकार संगठनका जिल्ला अध्यक्ष तीर्थराज बोहरा र उनकी श्रीमती खान पकाउँदै थिए। छोरी नग्मा बाहिर खेल्दै थिइन्।

‘एक्कासी ठूलो आवाज आएपछि हामी बाहिर निस्कियौं। तर छोरी खेलिरहेको ठाँउबाटै पहिरो गएछ’, तीर्थराजले भने, ‘क्षणभरमै पहिरोले छोरीलाई माटोमा मिलायो। गुहार–गुहार गर्यौ। तर हाम्रो आवाजले छोरीलाई बचाउन सकेन।’

पहिरोमा पुरिएकामध्ये जीवितै उद्धार गरिएका भेरी नगरपालिका ६ गंगटियाका खड्गबहादुर लुहार पछिसम्म कराउँदै थिए। ‘केही समयमा स्थानीय आए, घटना भएको १५ मिनेटपछि प्रहरी सेना र सशस्त्र आइपुग्यो। उनको जीवितै उद्धार भयो’, उनले भने।

खड्गबहादुरलाई जीवितै उद्धार गरे पनि उनकी श्रीमती २५ वर्षीया शितला लुहार, छोरी ९ वर्षीया भावना परियार, ६ वर्षीया रञ्जना परियार र ३ वर्षीया मनिसा परियारलाई भने बचाउन सकेनन्।

खड्गबहादुर अहिले अस्पतालको शैयामा श्रीमती र छोरीको मृत्यु पीडाले छटपटाइरहेका छन्। ‘सबै परिवारका सदस्य मरेर म बाँचेको के काम’, उनले भने।

बोहराको घरमा डेरा बसेका उनी छोरी पढाउने र आफू मिस्त्री काम गर्थे। छोरीको उज्ज्वल भविष्यको लागि सदरमुकाममै राखेर पढाउने उद्देश्यले केही महिना अघि मात्र उनी सदरमुकाम झरेका थिए।

जीवितै उद्धार गरिएका लुहारको जाजरकोट अस्पतालमा उपचार भइरहेको छ। उनको छाती, टाउँको र खुट्टामा चोट लागेको छ। अवस्था गम्भीर रहेको छ। अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्