
रोल्पा, २१ साउन / सदरमुकाम लिवाङ बजारमा अब सिसी क्यामेराबाटै निगरानी गरिने भएको छ । अपराध अनुसन्धान तथा शान्ति सुरक्षा सुदृढ गर्ने उद्देश्यले उक्त क्यामेरा जडान गरिएको हो ।
बजार क्षेत्रको दैनिक गतिविधि अब प्रहरी कन्ट्रोलरुमबाटै निगरानी हुने प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुँयालले बताउनुभयो ।
रोल्पा नगरपालिका, रोल्पा उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ, गैर सरकारी संस्था महासंघ, विभिन्न बंैक र लेखापढी कानून व्यवसायी एशोसिएशनको संयुक्त लागतमा सदरमुकामका विभिन्न स्थानमा १० वटा सिसी क्यामेरा जडान गरिएको छ ।
ती क्यामेरामध्ये चार वटा चारैतिर घुम्ने र छ वटा एकैतिर रहने खालका छन् । टुँडिखेल क्षेत्रमा तीनवटा, जनता बैंक अगाडि, लोकतान्त्रिक चोकमा , बीच बजारमा, पिपल चौतारामा सात्ताले खोलामा, शिवालय मन्दिरमा र जिल्ला प्रशासन कार्यालयको ढोकामा एक–एक वटा क्यामेरा रहेका छन् ।
जिल्ला सदरमुकाममा विभिन्न क्षेत्रका मानिसको आवतजावत हुने भएकाले सुरक्षा व्यवस्थालाई थप सुदृढ गर्न तथा सामाजिक विकृति रोक्न क्यामेरा जडान गरिएको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले बताउनुभयो ।
ती क्यामेराका लागि उक्त नगरपालिकाबाट रू सात लाख र अन्य निकायबाट रु ११ लाख ६३ हजार व्यहोरिएको उहाँले जानकारी दिनुभयो ।
(रासस)

