काठमाडौँ,२१ साउन । चर्चित हास्यकलाकार तथा सामाजिक अभियन्त सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ फिल्म निर्माणको तयारीमा लागेका छन् । चलचित्र विकास बोर्डमा केही दिनअघि यो जोडीले ‘एन्टिभाइरस’ नामक फिल्म दर्ता समेत गरिसकेको छ ।
फिल्मको स्कृप्ट तयारीका लागि धुर्मुस सुन्तलीसहित एक टोली पोखरा पुगेको छ । टोलीमा हास्यव्यंग्य कलाकार मनोज गजुरेल, तथा भद्रगोलका कलाकारहरु अर्जुन घिमिरे पाँडे, कुमार कट्टेल ‘जिग्री’, दिपक आचार्य ‘काकु’ लगायतका कलाकार रहेको जनाएका छन् ।
‘हामीले निर्माण गर्ने फिल्म मुलरुपमा हास्यप्रधान नै हुने भए पनि यसको विषयवस्तुका बारेमा हामी अझै छलफलमा छौं,’ धुर्मुसले भने, ‘दर्शकले हामीबाट धेरै अपेक्षा राख्ने हुनाले विषयवस्तुका बारेमा गम्भीर मन्थन गरिररहेका छौ। ।’
यसअघि नगरकोटमा बसेर एउटा खाका बनाए पनि त्यो चित्त नबुझेपछि उनीहरु पोखरा पुगेका हुन् । फिल्मलाई मनोरञ्जनात्मक मात्रै नभएर सन्देशमुलक पनि बनाउने विषयमा टिममा छलफल भएको छ ।
चलचित्र विकास बोर्डमा ‘एन्टिभाइरस’ नाममा फिल्म दर्ता गरिएपनि यो नाम परिवर्तन हुने सम्भावना पनि उक्तिकै रहेको छ । फिल्ममा को–को कलाकार रहने भन्ने बारेमा अझै टुङ्गो लाग्न बाँकी रहेको जनाईएको छ । ‘कथावस्तु तयार भइसकेपछि त्यसको डिमान्डअनुसार कलाकार छनोट गर्छौं,’ उनले बताएका छन ।
धुर्मुस यतिबेला देशको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बिषयमापनि जुटिरहेका छन् ।