Logo

प्रतिनिधिसभाः सार्वजनिक सुरक्षा विधेयक प्रस्ताव स्वीकृत



काठमाडौँ, २१ साउन / प्रतिनिधिसभाले सार्वजनिक सुरक्षा तेस्रो संशोधन विधेयक २०७५ दवाफार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

यसअघि गृहमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । बैठकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरेको छ ।

अर्थमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ढकालले प्रस्तुत गरेको लेखापरीक्षण विधेयक, २०७५ र बीमा विधेयक २०७५ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पनि सदनले सर्वसम्मत रुपमा स्वीकृत गरेको छ ।

यसअघि सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेको प्रतिनिधिसभाअन्तर्गतको विभिन्न विषयगत समितिमा रहने सांसदको नाम तथा तथा हेरफेरलाई सभाले अनुमोदन गरेको थियो ।

बैठकमा सभामुख महराले वर्तमान मन्त्रिपरिषद्को पछिल्लो विस्तारसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो । प्रतिनिधिसभाको अर्काे बैठक यही साउन २७ गते अपराह्न १ बजे बस्नेछ । (रासस)



प्रतिक्रिया दिनुहोस्