काठमाडौँ, २२ साउन । गृहमन्त्री रामबहादुर थापाले मानव तस्करी, बेचबिखन र यससम्बन्धी अन्तरदेशीय अपराधलाई नेपालले गम्भीररुपमा लिएको बताएका छन ।
इण्डोनेसियाको बालीमा सोमबारबाट जारी मानवतस्करी, बेचबिखन र अन्तरदेशीय अपराध’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई आज त्यहाँ सम्बोधन गर्दै गृहमन्त्री थापाले ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा जाने गरेका कारण पनि यो विषयलाई आफूहरुले गम्भीररुपमा लिएको बताएका हुन।
उनले दिगो मानव विकास, कानूनी शासन र नागरिक सुरक्षाका लागि मानव तस्करी र बेचबिखन बाधकका रुपमा देखा परिरहेको टिप्पणी गरेका थिए। गृहमन्त्री थापाले मानव तस्करी, बेचबिखन र अन्तरदेशीय अपराधसम्बन्धी विषयमा राष्ट्रहरुबीच सूचना आदानप्रदान र कानून कार्यान्वयन गर्ने निकायबीच सहकार्य गर्न जारी सम्मेलनले सहजता प्रदान गर्ने विश्वास व्यक्त गरेका छन ।
उनले विभिन्न देशमा रहेका आप्रवासी कामदारको हितका लागिसमेत यो सम्मेलनले दिशा निर्देश गर्ने आशा व्यक्त गरे। आज सम्पन्न हुने सातौँ मन्त्रिस्तरीय सम्मेलनमा विभिन्न देशका गृहमन्त्री र उच्च सरकारी अधिकारी सहभागी रहेका छन। सन् २००२ मा बाली प्रोसेसको नाममा यो सम्मेलनको आयोजना गर्न शुरु गरिएको हो ।
नेपालसहित चीन, भारत, अष्ट्रेलियालगायत ४५ सदस्य राष्ट्र र संयुक्त राष्ट्रसंघीय एजेन्सी आइओएम, युएनएचसीआर र युएनओडिसी सम्मेलनको सदस्यका रुपमा छन् ।गृहमन्त्रालयको चार सदस्यीय टोलीको नेतृत्व गर्दै गृहमन्त्री थापा गत आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन। उनि साउन २३ गते नेपाल फर्कने कार्यक्रम रहेको छ । रासस