धनराज वास्तविकः काठमाडौं, २५ साउन । लोक तथा दोहारी क्षेत्रकी एक चर्चित एवम लोकप्रिय गायिका हुन पूर्णकला बिसी । वि.स.२०४५ साल फागुन १२ गते प्रेदश नम्बर ५ को बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नम्बर १ (साविकको मध्यपश्चिम) मा बाबा वीरबहादुर बिश्वकर्मा र आमा दीलसरी बिश्वकर्माको कोखबाट माईली सन्तानको रुपमा यस धरतीमा पाईला टेकेकी हुन ।
पाँचवटा बहिनी र एकजना भाई मध्यकी माईली छोरी पुर्णकला बिसीको आवाजलाई खासगरि बिरहका गीतहरुमा बढि सुन्न पाईन्छ भन्दा अन्यथा हुँदैन । उसो त फास्टविटका गीतहरु नरुचाईएका पनि छैनन् । सामाजिक सन्देश र पारिवारिक वातावरणमा सुन्न र हेर्न मिल्ने खालका गीतहरुमा आवाज दिन रुचाउने गायिका बिसी गीत संगीतलाई जनपक्षिय बनाउनु पर्नेमा जोड दिन्छिन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी केन्द्रीय सदस्य समेत रहेकी गायिका बिसी २०६५ सालदेखि यस कलाकारीता क्षेत्रमा सक्रिय छन् । नेपालका चर्चित गायिकाहरुको सूचिमा अटाउने बिसी सरल र मिलनसार स्वभावकी गायिकामा पर्छिन ।
लोक तथा दोहारी गीत संगीतका सर्जक डम्बर नेपालीसंगको सहकार्यमा ‘तिर्सना मेटौला’ बोलको गीतमा पहिलो पटक आवाज दिएकी गायिका बिसीले आफ्नो सांगीतिक यात्रामा आजको दिनसम्म पाँच हजार बढि गीतमा आवाज दिई सकेको बताउछिन् ।
घनश्याम तिवारीको उत्कृष्ट शब्द रचना एवम् लोकप्रिय सर्जक वशन्त थापाको भाकामा तयार पारिएको ‘डाँडै बिसौनी’ बोलको गीतबाट चर्चामा आएकी गायिका बिसीलाई पछि पर्किनु परेन । उनले यस वर्षको तीजमा दुई दर्जन बढि तीजका भाकाहरुमा आवाज दिएको बताएकी छन् ।
गायिका बिसीले रिपोर्टर्सनेपाल डटकमसँगको कुराकानिमा समाजले नरुचाउने खालका ४ वटा तीजका गीतहरु गाउन अस्विकार गरेको र एउटा गीतमा आवाज दिएर पनि पछि हटाउन लगाएको बताएकी छन् ।
उनले भनिन्, ‘यस वर्ष विगतका वर्षका जस्ता गीतहरु आएका छैनन्, विस्तारै हाम्रो गीतसंगीत क्षेत्र राम्रो बन्दैछ, लोक तथा दोहोरी गीत प्रतिष्ठानको ठूलो हात रहेको छ, समाजलाई अपाच्य हुने खालका गीतहरुलाई निरुत्साहित पार्ने र उत्ताउलो पनका कलाकारहरुलाई स्टेजमा वहिष्कार गर्ने रणनीतिमा प्रतिष्ठान जुटेको छ ।’
गायिका बिसीको बुझाईमा हरितालिका तीज नेपाली हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाँड हो । यस चाँडलाई साँस्कृतिक रुपमा लिनु पर्छ । हरितालिका तीजका बारेमा उनीसँग कुराकानि गर्दै गर्दा उब्जेका शब्दहरुमा तीजको ऐतिहासिकतामा लिन मन लाग्यो ।
हरितालिका तीज भाद्र शुक्ल द्वीतिया देखि पञ्चमीसम्म ४ दिन मनाईन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ ।
नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउने गर्दछन् ।
यो पर्व मुख्य रूपले नेपालभर मनाईन्छ भने भारतका कुनै कुनै प्रान्तमा मनाइन्छ । भनिन्छ, आद्य शक्ति भगवानशिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो वत्र राखेकी थिईन् । त्यो दिन यहि हरितालिका तीजको दिन थियो । त्यसै दिनको सम्झनामा आजसम्म हिन्दु नारीहरूले यो पर्व मनाउदै आएका छन् ।
यसै क्रममा कलाकारहरुले पनि हरितालिका तीजलाई गीत संगीतको माध्ययम मार्फत साथ दिने गर्दछन् । रमाउने गर्दछन् । नाच्ने गर्दछन् । पहिला पहिला नारीहरुको मात्रै पहिचानको रुपमा मनाउँदै आएको तीज पछिल्लो समयमा पुरुषहरुको पनि उत्तिकै उपस्थिति रहदै आएको छ ।
तीजको महत्व
हाम्रो समाजमा तीज महिलाहरूले मनाउने एउटा महत्वपूर्ण पर्व हो । आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन विताउनु पर्नेहुन्छ ।
यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरको रूपमा तीजपर्वको गहन महत्व रहेको छ । तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ ।
तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत वसी नाचगान र मनोरञ्जन गर्छन भने अविवाहिताहरू सुयोग्य वरको आशा राखी ब्रत बस्छन । ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण ब्राह्मणीहरूलाई दानदक्षिणा गर्ने चलन रहेको छ ।
दरखाने दिन
यो चाडमा माइतीले ९बाबु आमा,दाजुभाइ० छोरीरचेली लाई घरमा गई लिएर आउने वा बोलाएर मीठा–मीठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने–बस्ने चलन छ । यस दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ । यहि दर खाने दिन बाट नै तिज पर्वको आरम्भ भएको मानिन्छ ।
दरमा ठाउँ अनुसार विभिन्न मिठा-मिठा परिकार साथै खीर, ढकने, सेलरोटी, केरा लगायतका खाना, फलफुल खाने गरिन्छ । आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ । भोलिपल्ट दिनभर पानी सम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राती ढीलासम्म बसेर पेटभरी खाने प्रचलन बसेको हो ।
मनाउने तरिका
तीजको दिनका अतिरिक्त गणेश चतुर्थी र ऋषिपञ्चमी लाई पनि तीज पर्वकै रूपमा मनाइन्छ । खास गरी यसमा स्त्रीहरूले पतिको निमित्त निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वती सँग प्रार्थना गर्दछन् । यो दिन महिलाहरु विहान चाँडै उठी नुहाई धुवाई गरेर दिनभरी जल अन्न ग्रहण नगरी ब्रत बस्ने गदैछन । बेलुकी पख घर गाउँ र छिमेकका महिलाहरु भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ ।
निर्जला ब्रत भनिएपनि आजभोली महिलाहरु मध्यान्हमै पुजा आराधना पश्चात फलफूल ग्रहण गर्ने गर्दछन । कतिपय महिलाहरु नजीक रहेको शिवमन्दिरमा गई शिव आराधनाका साथै नाच गान तथा रमाईलो गर्ने गर्दछन् । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा महिला ब्रतालुहरुको ठूलो भीड हुने गर्दछ ।
तीजको धार्मिक पृष्ठभूमि
हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्न बसिन् ।
यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस् भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।