Logo

सरकारले अब काम गराईको गति बढाउनुपर्छ : महतो



सिरहा, ३० साउन । सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य एवम् पूर्व सभासद डा. वीरेन्द्र प्रसाद महतोले सरकारले अब काम गराईको गति बढाउनुपर्ने बताएका छन् ।

गृहजिल्ला सिरहाको कर्जन्हामा आज सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै डा. महतोले सरकार गठन भएको ५ महिना पूरा भैसकेकोले अब काम गराईको गति बढाउनुपर्ने धारणा राखेका हुन् । उनले भने,‘सरकारसामू थुप्रै चूनौतिहरु छन्, तर अब ऐन, नियम र कानून बनाउँदै जनतालाई छिटो र छरितो सेवा प्रदान गर्नुपर्छ ।’

दुई तिहाईभन्दा बढिको समर्थनमा सरकार गठन भएकोले अब ढिलासुस्ती नगरी मुलुकलाई समृद्धिको दिशामा अघि बढाउनुपर्ने बताउँदै महतोले सुशासन, शान्ति र सुरक्षा चुस्त दुरुस्त राख्नपनि सरकार गम्भिर बन्नुपर्ने बताए ।

आर्थिक समृद्धि हाँसिल गर्नेगरि विकास निर्माणका कार्यहरुलाई द्रुत गतिमा अघि बढाउनुपर्ने उनको भनाई छ । उनले भने,‘सरकारलाई काम गर्नको लागि अहिले कुनै अवरोध छैन । संयमित भएर जनताको आवश्यकत्ता पुर्ति गर्नेगरि सरकारले सेवा प्रदान गर्नुपर्छ । अनियमितता, भ्रष्टाचारलाई पूर्ण नियन्त्रण गर्नुपर्छ ।’

डा. महतोले लाखौंको संख्यामा नेपाली युवाहरु विदेशिन बाध्य भएको सुनाउँदै भने,‘मुलुकमै नयाँनयाँ उद्योगको स्थापना गरी देशभर रोजगारी सृजना गर्ने वातावरण बनाउनुपर्छ । सरकारले अब यसबारेपनि गम्भिर कदम चाल्न जरुरी छ ।’

नयाँ उद्योगको स्थापना गरि मुलुकमा व्याप्त गरिबी, पछौटेपन र बेरोजगारीको समस्या हटाउनतिर सरकारको ध्यान जानुपर्ने महतोको सुझाव छ ।

पछिल्लो समय सरकारले कर बढाएको भनेर जनतामा निराशा छाएको उनको टिप्पणी छ । उनले भने,‘सरकारले करमात्रै बढाएर हुँदैन् । करको दायरा बढाउनु राम्रो कुरा हो तर कर बढाएपछि त्यही अनुसारको सेवा तथा सुविधा जनतालाई दिन सक्नुपर्छ । कर तिरेपछि नागरिकले पाउने सुविधा के हुन्छ ? जनताले सुविधा त पाउनुपर्यो नि, त्यसमा सरकारले विशेष ध्यान दिनुपर्छ।’

त्यस्तै उनले स्थानीय र प्रदेश सरकार दुवैले छुट्टाछुट्टै कर लिने प्रावधान राखिएको हुँदा यसले जनता दोहोर कर प्रणालीको मारमा पर्ने गुनासो पोखे । उनले भने,‘दोहोरो कर प्रणालीलाई हटाएर सरकारले एकद्धार कर प्रणालीको नीति ल्याउनुपर्छ । जनतालाई मारमा पार्नुहुँदैन् ।’



प्रतिक्रिया दिनुहोस्