Logo

प्रधानमन्त्री ओलीले जनकपुर पुगेर यसरी नाम लिए मोदीको



काठमाडौं, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विकास र समृद्धिको रफ्तार अब मधेशबाटै सुरु हुने बताएका छन् ।

शनिबार प्रदेश नम्बर २ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने,‘अब मधेशमा रेलको रफ्तारमा विकास हुन्छ । मुलुककै विकास मधेशबाटै अब रेलको गतिमा सुरु हुनेगरि सरकार अघि बढिरहेको छ । अब मधेशबाटै विकासको मुल फुट्छ ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आफू संविधान संशोधन गर्ने तयारीमा जुटिसकेको पनि बताए । त्यस्तै किसानहरुको समस्याबारे पनि आफू चिन्तित रहेको ओलीले सुनाए । उनले भने,‘यहाँका किसानहरुलाई पिर, मर्का परेको छ, अब कुनै मर्का नपर्नेगरि मैले काम गरेको छु।’

सम्बोधनको क्रममा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम लिँदै भने,‘समृद्ध नेपाल र सुखी नेपाली भन्ने मेरो नारामा भारतीय प्रधानमन्त्री मोदीजीको समर्थन छ । मधेशको सबै क्षेत्रमा विकास होस भन्ने मेरो चाहना छ, त्यसैले म मधेश आएको हुँ ।’

मधेशमा सडकलगायत पूर्वाधार विकासमा आफू नेतृत्वको सरकारले विशेष ध्यान पुर्याउँदै आएको उनको भनाई छ । उनले भने,‘मधेशको सडकलगायत अन्य बाटाघाटाहरुको विकासमा ७० प्रतिशत बजेट यहीँ आउँछ ।’

मधेशको समृद्धि र सम्पन्नता मुलुकसँग जोडिएको बताउँदै उनले भने,‘हाम्रो देशमा रेल, सडक, पानीजहाज सबै सम्भव छ । यी सबै कुरा म पूरा गरेर देखाउँछु । मधेश यसको प्रस्थानविन्दु हुनेछ।’



प्रतिक्रिया दिनुहोस्