Logo

फोहरले वातावरण प्रदूषण



काठमाडौँ, ३ भदौ । काठमाडौँ उपत्यकामा आयात गरिने तरकारी र मासुजन्य वस्तुबाट निस्कने अखाद्य वस्तु नै वातावरण प्रदूषणको मुख्य कारण रहेको सम्बद्ध निकायले बताएका छन् ।

वन तथा वातावरण मन्त्रालयको सहकार्यमा जनज्योति ल फर्मले आज यहाँ आयोजना गरेको वातावरण अनुगमनको कानूनी पक्षसम्बन्धी क्षमता अभिवृद्धि तालीममा मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले जानकारी गराएका छन ।

पछिल्लो समय काठमाडौँको वातावरणका कारण नागरिक विभिन्न रोगको शिकार बन्नुपरेको भन्दै डा ढकालले यस विषयमा सबैले चासो बढाउनुपर्ने बताएका छन । काठमाडौँमा खेती गर्ने जग्गा छैन, तरकारी, मासुलगायत सम्पूर्ण खाद्य सामग्री बाहिरबाट आयात गर्नुपर्छ तीमध्ये सबैभन्दा बढी मासुजन्य बस्तु र तरकारीबाट बढी फोहर भित्रिने गरेको छ ।

“ती सामग्रीबाट निस्कने फोहरलाई उपत्यका बाहिर नै व्यवस्थापन गरी खान योग्यलाई मात्र काठमाडाँै ल्याउनुपर्छ, अन्यथा कुनै एक स्थानमा मात्र सबै ठाउँको फोहर व्यवस्थापन गरेर शहर सफा हँुदैन,” ढकालले सुनाए।

वातावरण विभागका महानिर्देशक झलकराम अधिकारीले अझै पनि विभाग नीतिगत रूपमा स्पष्ट नभएको भन्दै काम गर्ने वातावरणका लागि पहिले नीति बनाउनुपर्ने धारणा राखेका छन ।

उनले भने, “उपत्यकाको फोहर व्यवस्थापन चुनौतीको रूपमा खडा भएको र त्यसको लागि खाद्य सामग्रीसँगै आउने फोहर बस्तु बाहिरी जिल्लामा नै व्यवस्थापन गरेर मात्र ल्याउनुपर्छ, नत्र समस्या थपिदै जान्छ । उपत्यकाबाट दैनिक बाह्र सय र काठमाडौँ महानगरपालिकाबाट दैनिक पाँच सय मेट्रिकटन फोहर निस्कन्छ ।

तीमध्ये ६० प्रतिशत कुहिने फोहर रहेको छ । विभागका करीब २५ कर्मचारीलाई आगामाी शुक्रबारसम्म तालीम सञ्चालन गरिनेछ । रासस



प्रतिक्रिया दिनुहोस्