Logo

बीमा गराउने भन्दा माग दाबी बढी



चितवन, ४ भदौ । सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत जिल्लामा बीमा गर्ने भन्दा बीमा मार्फत उपचार गराउनेको सङ्ख्या धेरै देखिएको छ । बाहिरी जिल्लामा बीमा गराएर यहाँ उपचार गराउने आउने भएकाले सङ्ख्या बढी देखिएको हो ।

स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालय चितवनका दर्ता अधिकृत निर्मला भट्टराईका अनुसार जिल्लामा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या एक लाख ६७ हजार छ । तर बीमा मार्फत उपचार गराएर माग दाबी गर्नेको सङ्ख्या एक लाख ८९ हजार ९९४ पुगेको छ ।

जिल्लामा बीमा गराउनेमध्ये सबैको माग दाबी छैन । अस्पतालबाट माग दाबी भई आएको तथ्याङ्क हेर्ने हो भने जिल्ला बाहिरबाट चितवनमा उपचार गराउन आउनेको सङ्ख्या बढी देखिएको छ । नवलपरासी, मकवानपुर, धादिङ, गोर्खा, बारा, पर्सा, रौतहटलगायतका जिल्लाबाट चितवनका अस्पतालमा उपचार गराउन आउने गरेका छन् ।

कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा सबैभन्दा बढी बीमा माग दाबी गर्ने चितवन मेडिकल कलेज रहेको छ । पूर्वी चितवनमा रहेको गुञ्जमान अस्पतालमा बीमा गर्ने बिरामी खासै नजाने देखिएको छ । सो अस्पतालले अहिलेसम्म एक जनाको पनि बीमा माग दाबी गरेको छैन ।

मेडिकल कलेजले अहिलेसम्म एक लाख एक हजार ८० को बीमा माग दाबीको निवेदन पठाएको छ । सबैभन्दा कम मनकामना अस्पतालले ४४३ को बीमा माग दाबी गरेको छ । भरतपुर अस्पतालले ३७ हजार ६६५, रत्ननगर बकुलहर अस्पताल रत्ननगरले १४ हजार १०५, भरतपुर आँखा अस्पतालले १२ हजार ६७ को माग दाबी गरेका छन् ।

कलेज अफ मेडिकल साइन्सेज भरतपुरले १० हजार ५१८, खैरहनी प्राथमिक स्वास्थ्य केन्द्र खैरहनीले ६ हजार ५९३, बघौडा अस्पताल माडीले दुई हजार १९, जुटपानी प्राथमिक स्वास्थ्य केन्द्र जुटपानीले तीन हजार ७१, शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रले एक हजार ४८७ र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ९४३ जनाको बीमा माग दाबी गरेको कार्यालयले जनाएको छ ।

दुई मेडिकल कलेजसहित दुई दर्जन निजी अस्पताल, सरकारी स्तरको भरतपुर अस्पताल, क्यान्सर अस्पताललगायतका स्वास्थ्य संस्था रहेकाले बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउनेको संख्या धेरै रहने गर्दछ ।

जसले गर्दा चितवनमा बीमा बापतको रकम माग दाबी गर्नेको सङ्ख्या बढी देखिएको भट्टराईले बताउनुभयो । जिल्लामा गत वर्षदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको हो । रासस



प्रतिक्रिया दिनुहोस्