भक्तपुर, ५ भदौ । भक्तपुर आउने विदेशी पर्यटकलाई भक्तपुरकाबारेमा सजिलै जानकारी दिने उद्देश्यले भक्तपुर नगरपालिकाले पथ प्रदर्शक तालीम सञ्चालन गरेको छ ।
भक्तपुर नगरभित्रको सांस्कृतिक सम्पदा, जात्रापर्व, रहनसहन, रितिरिवाज, परम्परा, जनजीवन, पोशाक, परम्परागत खाना लगायतकाबारेमा पथप्रदर्शकमार्फत सहज जानकारी गराउन तालीम दिइएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए । देशका विभिन्न ठाउँबाट आएका ६७ जनाको तालीममा सहभागिता छ । नगर प्रमुख प्रजापतिले पर्यटन विकासका लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी गराए।
पाँच सय ९९ मुद्दा दर्ता
महानगरीय प्रहरी परिसर भक्तपुरमा यसवर्ष विभिन्न आपराधिक घटनाका ५९९ मुद्दा दर्ता भएका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरले विगतको तुलनामा यसवर्ष घटना र मुद्दाको सङ्ख्यामा वृद्धि भएको जनाएको छ ।
प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले आर्थिक वर्ष २०७२÷७३ मा ४३८ र २०७३÷७४ मा बढेर ४८६ मुद्दा दर्ता भएकोमा २०७४÷७५ मा यो संख्या २० प्रतिशत बढेर ५९९ पुगेको बताउनुभयो । प्रहरी उपरीक्षक श्रेष्ठले भन्नुभयो,“दैनिक घट्ने कतिपय आपराधिक घटना प्रहरीसम्म आइपुग्दैन, यसवर्ष विगतभन्दा बढेर आपराधिक घटनाका मुद्दा दर्ता भएका छन्, अहिले मुद्दा दर्ता गर्ने क्रम बढेको छ ।”
दर्तामध्ये लागुऔषध सम्बन्धी मुद्दामा गतवर्ष १५ भएकोमा यसवर्ष साउनसम्म २२ छन् । गत वर्ष १८५ सार्वजनिक अपराध सम्बन्धी मुद्दा दर्ता भएकोमा यस वर्ष २५० पुगेको छ । गतवर्ष ३० चोरीका मुद्दा दर्ता भएकोमा यसवर्ष ५७ पुगेको छ । भक्तपुरमा गत वर्ष ३३ फुटकर ज्यान र ३७ भवितव्य ज्यानका मुद्दा दर्ता भएकोमा यसवर्ष क्रमशः ३८ र ५० मुद्दा दायर भएका छन् । गतवर्ष ११ जबरर्जस्ती करणको मुद्दा दर्ता भएकोमा अहिले २० पुगेको छ । गतवर्ष सात बहुविवाहका मुद्दा दर्ता भएकोमा यसवर्ष १० वटा पुगेको छ ।रासस