Logo

सरकार उड्नुपर्ने हो, तर हिँड्नपनि दिईएन : पूर्वमन्त्री तामाङ



काठमाडौं, ५ भदौ । सत्तारुढ दल नेकपाका नेता एवम् निवर्तमान कानूनमन्त्री शेरबहादुर तामाङले भ्रष्टाचारकोविरुद्धमा वर्तमान सरकार कठोर रुपमा प्रस्तुत हुने बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘सरकारले न्यायालयलगायत अन्य क्षेत्रमा हस्तक्षेप गर्यो भनेर गलत प्रचार गरिएको छ । तर, सरकार भ्रष्टाचारीलाई कडा कारबाही गर्नेगरि अघि बढेको छ । बलात्कारीले नारीको अस्मिता लुट्छ, तर भ्रष्टाचारीले त मुलुकको अस्मितामाथि बलात्कार गर्छ । यसबारेमा सरकारले मृत्युपर्यन्त जेल सजाय दिनेसम्मको कानून अघि बढाउँदैछ ।’

सरकारलाई काम गर्नको लागि केही अप्ठ्याराहरु रहेको सुनाउँदै तामाङले भने,‘अहिले सरकारलाई हिँड्न दिईएको छैन । सरकार कुद्नेमात्रै होईन यतिवेला उड्नुपर्ने हो । तर हिँड्नसमेत दिईएन् ।’

संघीय कानूनको अभावमा केही स्थानीय तहरुले कर उठाउन थालेको विषयलाई ठूलो ईस्यु बनाईएको पनि उनको गुनासो छ । उनले भने,‘केही स्थानीय तहहरुले सबै अधिकार हामीमा आयो भन्ने ठानेर केही ठाउँहरुमा कर उठाएको देखियो । कानूनको अभावमा यस्तो भयो । अब सबै कुरा व्यवस्थित् हुन्छ । सरकारले करको दायरा र शीर्षक निक्र्यौल गर्नुपर्छ ।’

सुनुवाई समितिको पछिल्लो कदमबाट अब न्यायालय स्वच्छ, सक्षम र पारदर्शी हुने आफ्नो विश्वास रहेको पनि उनको भनाई थियो । उनले भने,‘उच्च नैतिकवान र आदर्शवान व्यक्तिमात्रै अब न्यायाधीश बन्न पाउँछन् । उनीहरुले गरेको फैसला पीडकको नभई पीडितको पक्षमा हुनेछन् ।’



प्रतिक्रिया दिनुहोस्