Logo

राष्ट्रिय निकुञ्जलाई अर्को सफलता



रत्ननगर । कोशीबाट स्थानान्तरण गरी चितवनमा ल्याइएका अर्नाको वंश विस्तारमा चितवन राष्ट्रिय निकुञ्जलाई अर्को सफलता मिलेको छ ।
निकुञ्जको पूर्वी क्षेत्रअन्तर्गत पुरानो पद्मपुरको खुला खोरमा राखेर संरक्षण गरिएका अर्नाले अर्को बच्चा जन्माएपछि प्रजाति विस्तारमा अर्कोे सफलता मिलेको हो । यसअघि गत साउन ३१ गते एउटा अर्नाले पाडी जन्माएको थियो ।

अर्नाले पाडो जन्माएको बिहीबार फेला परेको निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेले जानकारी गरेका छन। “हात्तीसहितको प्राविधिक टोलीले दुई दिन लगाएर अनुगमन गर्दा बिहीबार दोस्रो अर्ना ब्याएको पाइयो,” गैरेले बताए। अझै एउटा गर्भिणी रहेकाले एक महिनाभित्र बच्चा जन्माउने उनको अनुमान छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले पाडो जन्मिएकाले प्रजाति संरक्षणमा ठूलो सफलता मिलेको चर्चा गर्दै खुला खोरमा अझै अर्ना थप्ने योजना रहेको जानकारी दिए । खुला खोरमा १० अर्ना रहेकामा एउटा पाडो थपिएपछि ११ पुगेको छ । रोगब्याधी र बाघको आक्रमणलगायत कारणले यसअघि छ अर्ना मरेका थिए ।

सरकारको विसं ०७१ को निर्णयअनुसार विसं ०७३ को माघ १२ देखि २८ गतेसम्म १६ दिनको अन्तरालमा यहाँ १५ अर्ना ल्याइएको थियो । तत्कालीन समयमा पाँच भाले र १५ पोथी गरी २० अर्ना ल्याउने निर्णय भए पनि १५ वटा मात्रै ल्याइएको थियो । कोशी टप्पुबाट दुई भाले र १० पोथी गरी १२ तथा सदर चिडियाखाना ललितपुरबाट एक भाले र दुई पोथीसहित तीन अर्ना स्थानान्तरण गरी ल्याइएको थियो । खोर बढाएर यहाँ २० देखि ३० अर्ना पु¥याउने योजना निकुञ्जको छ ।

झुण्डमा हिँड्न थालेपछि भने बाघले पनि आक्रमण गर्न नसक्ने भएकाले त्यसपछि मात्रै खुलाखोरबाट जङ्गलमा छाड्ने योजना निकुञ्ज विभागको छ ।

उक्त निकुञ्जमा सन् १९६० देखिनै अर्ना रहेकामा पछि लोप भएको भनाइ छ । निकुञ्ज बनेपछि भने यहाँ अर्ना थिएन । अहिले सौराहास्थित पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टरको क्षेत्रफलमा खुला खोर बनाएर अर्ना राखिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्