Logo

जिम्बाबेका राष्ट्रपतिद्वारा सपथग्रहण



काठमाडैैँ । जिम्बाबेको राष्ट्रपतिमा इमर्सन नानगाग्वाले आइतबार औपचारिक रुपमा सपथ ग्रहण गरेका छन ।

लामो समय शासन गरेका रोवर्ट मुगावेको बहिर्गमनपछि भएको पहिलो निर्वाचनबाट निर्वाचित भएर उनले पूर्ण अधिकार सहितको राष्ट्रपति बनेका हुन ।

“म इमर्सन डाम्बुड्जो नानगाग्वाले जिम्बाबेका लागि इमान्दारितापूर्वक काम गर्नेगरी गणतन्त्र जिम्बाबेको राष्ट्रपति पदको सपथग्रहण गर्दछु,” सपथग्रहण गर्दा उनले भनेका छन ।

हरारेमा रहेको एउटा रंगशालामा हजारौँ समर्थकहरुको बीचमा उनले सपथ गरेको समाचारमा जनाइएको छ ।

“मैले जिम्बाबेका नागरिकको अधिकारको संरक्षण र प्रवद्र्धन गर्नेछु, त्यसैले मलाई भगवानले साथ दिनुहुनेछ,” उनले बताएका छन ।

जिम्बाबेको उच्च अदालतले प्रतिपक्षीद्वारा राष्ट्रपतीय निर्वाचन परिणामलाई लिएर दायर मुद्दाको विपक्षमा शुक्रबार फैसला सुनाएपछि आइतबार उनले सपथग्रहण गरेका हुन ।

शुक्रबार सुनाइएको फैसलामा भनिएको छ, “निर्वाचनमा भएको धाँधली सम्बन्धी अध्ययनमा अदालतको अन्तिम निष्कर्ष निवेदकले लगाएका आरोपलाई पुष्टि गर्ने खालको प्रत्यक्ष, प्रशस्त र विश्वसनीय आधार भेटिएको छैन ।”

प्रधानन्यायाधीश लुक मालालाले संवैधानिक अदालतको फैसला सुनाउँदै गत जुलाई ३० मा भएको राष्ट्रपतीय निर्वाचनमा इमर्सन नानगाग्वा निर्वाचित भएको अदालतले शुक्रबार ठहर गरेको जानकारी दिएका थिए ।

जिम्बाबेको प्रमुख विपक्षी गठबन्धन मुभमेन्ट फर डेमोक्रेटिक चेन्ज एमडीसीले नागाग्वा विजयी भएको परिणाम अस्वीकार गरेको थियो । विपक्षी गठबन्धनका प्रमुख नेल्सन चामिसाले यस नतिजालाई फर्जी भनेका थिए ।

जिम्बाबेको निर्वाचन आयोगले निर्वाचन निष्पक्ष रुपमा भएको र कुनै धाँधली नभएको दावी गरेको थियो । यो चुनाव सम्पन्न भएपछि नै मतगणना जारी रहेकै बेलादेखि विपक्षी गठबन्धनले निर्वाचन प्रक्रियाको विरोध गरेको थियो । उसको विरोधका कारण देशव्यापी रुपमा हिंसा पनि मच्चिएको थियो ।

गएको नोभेम्बरमा ९४ वर्षीय पूर्व राष्ट्रपति रोबर्ट मुगाबे सत्ताच्युत भएपछि जिम्बाबेमा पहिलोपटक संसद र राष्ट्रपतिको निर्वाचन भएको हो । तत्कालीन उपराष्ट्रपति नान्गाग्वा मुगाबेलाई पदबाट हटाइएपछि नै राष्ट्रपति भएका हुन ।

परिणामअनुसार नान्गाग्वाले २४ लाख ६० हजार ४६३ मत प्राप्त गरेका छन। यो मत परिणाम यहाँको निर्वाचनमा खसेको कूल मतको ५०।८ प्रतिशत हो ।

त्यसैगरी विपक्षी नेता नेल्सन चामिसाले २१ लाख ४७ हजार ४३६ अर्थात् ४४।३ प्रतिशत मत प्राप्त गर्नुभएको निर्वाचन आयोगद्वारा सार्वजनिक परिणाममा जनाइएको छ ।

निर्वाचनमा धाँधली भएको भन्दै विपक्षीले राजधानी हरारेमा गरेको प्रदर्शन दबाउन प्रहरी र सेनाले चलाएको गोली लागेर छ जना भन्दा बढीको मृत्यु भएको थियो ।

अदालतले विपक्षीको दावीलाई गलत ठहर गर्दै नानगाग्वाको पक्षमा फैसला गरेपछि जिम्बाबेको अबको बाटो केही प्रष्ट भएको देखिएको छ । उनले अब केही दिनमै नयाँ सरकार गठन गर्ने कार्यक्रम रहेको छ ।

झण्डै चार दशक मुगाबे शासन रहेको जिम्बाबेमा निर्वाचनबाट नयाँ सरकार गठन हुने भएपछि विश्वले नै यसलाई आशावादी र सकारात्मक रुपमा हेरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्