Logo

बोक्सी आरोपमा क्रूर यातना खेपेकी राधासँग किन बोल्दैनन् गाउँले ?



काठमाडौं १२ भदौ । बोक्सी आरोपमा क्रूर यातना खेपेकी राधा चौधरी गाउँमा पुनस्र्थापना त भइन्, तर उनीप्रति गाउँलेको दृष्टि अझै सकारात्मक हुन सकेको छैन । गाउँले अहिले पनि उनलाई देखेपछि टाढिन्छन् । ‘मेरो गाउँवासी अहिले पनि मलाई देखेपछि टाढिएर हिंड्छन्,’ राधाले भनिन्, ‘विद्यालयमा पनि मेरो गाउँका कोही साथी मसँग बोल्दैनन् ।’

आफूलाई अझैं पनि गाउँमा बस्न सहज नभएको राधा बताउँछिन् । गाउँमा अझैं पनि आफूप्रति शंकाको व्यवहार गर्नेहरू देखेर राधाको आत्मबल बढेको छैन। प्रत्यक्ष रुपमा गाली गर्न त आउँदैनन्। तर परबाट औला तेस्याएर कुरा काट्छन्। पिठ्युपछाडि ‘बोक्सी’ भनेर गाली गर्ने गरेको सुन्दा नमिठो लाग्ने गरेको उनले सुनाइन्। आफ्नो अवस्थाबारे कुरा गर्दैगर्दा राधाले जबर्जस्ती मुस्कुराउन त खोजिन्, तर भित्रैदेखि उनको हाँसो फुटेन।

राधाकी आमा फूलकेशरीले पनि गाउँमा छोरीलाई सहज वातावरण नभएको बताइन्। ‘छोरीलाई गाउँ समाजका केही मानिसले यस्तो भन्यो, उस्तो भन्यो भनेर सुन्दा पीडाले पोल्छ,’ आमा फुलकेशरीले भनिन्, ‘जसले जे भने पनि चुपचाप सहेर बस्छौं। सुने पनि नसुनेझैं गर्छौ।’

गएको फागुन २४ गते २० वर्षीया राधा अरु दिन झै घर नजिकै रहेको गोठमा गोबर सोहोरेर फर्किदै थिइन्। त्यही बेला ६ जनाको समूह ‘यही हो बोक्सी, समात् समात् भन्दै चर्को स्वरमा कराउँदै ‘बाघले बाख्रो झम्टे झै’ गरी समाते।

उनलाई घिसार्दै २० मिनेटजति पर रहेको भोलेबाबा भनिने रामबहादुर चौधरीको घरमा पुर्‍याए। त्यही गाउँका भोलेबाबा भनिने रामबहादुर चौधरीको घरमा छरछिमेकीहरू चारैतिर घेरा बनाएर बसेका थिए। ‘त्यहीँ गाउँलेको माझमा राखेर भोलेबाबा र उनकी सहयोगी ‘पार्वती माता’ ले ६ घण्टासम्म निर्घात कुटपीट गरे’ राधाले घटना सम्झँदै मलिन स्वरमा भनिन्।

राधाको परिवारमा आमा, बुवा, दाजु, र दुई भाइबहिनी छन्। आर्थिक अवस्था कमजोर भएकाले राधाका बुवा, दाइ र भाइ अहिले भारतमा मजदरी गर्छन्। घरमा आमासँग उनी र कान्छी बहिनीमात्रै छिन्।

घटना सार्वजनिक भएपछि दुई सातासम्म खुबै चर्चापरिचर्चा भयो। प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले राधाको स्वास्थ्योपचार तथा शिक्षाको सबै जिम्मेवारी प्रदेश सरकारले ब्यहोर्ने घोषणा गरे। मन्त्रीहरूले पनि उनलाई भेटेर अनेक आश्वासन दिए। तर, घटनाको ५ महिना बित्दा पनि पीडितले आश्वासनका पोका बाढ्नेहरू कसैबाट केही पाएकी छैनन्।

‘अहिले त कोही सोधपुछ पनि गर्दैनन्,’ राधाले भनिन्। नगरपालिकाले उनलाई एक लाख दिने बताएको छ। तर हात परेको छैन। ‘ख्वै मलाई केही थाहा छैन,’ उनले भनिन्। कक्षा ११ को सबै शुल्क उनले तिर्नुपरेको छ। ‘१२ को भर्ना शुल्क तिरेको छैन। सरहरूले शुल्क तिर्नु पर्दैन त भन्नु भएको छ,’ राधाले भनिन् ‘कक्षा ११ को सबै शुल्क आफैंले तिरेँ।’

उनी अध्ययनरत घोडाघोडी नगरपालिकाको सुखडस्थित राष्ट्रिय माविले भने राधाको शिक्षा नि:शुल्क गर्ने निर्णय गरेको बताएको छ। विद्यालयका प्रअ रामछविला चौधरीले भने, ‘विद्यार्थी तथा शिक्षकको दबाबमा व्यवस्थापन समितिले उनलाई कक्षा ११ र १२ सम्म नि:शुल्क पढाउने निर्णय गरेको छ।’ घटनाका बेला सरकारी तथा गैरसरकारी संघसंस्था थुप्रैले अनेक आश्वासन दिएको उनी सम्झिन्छिन्। काममा सहयोग गर्ने भनेर आश्वासन दिएका थिए। उनी भन्छिन्, ‘अहिले कसैसँग सम्पर्क छैन।’ नारी दिवसकै दिन २० वर्षीया राधामाथि देउकलियामा स्थानीय रामबहादुर चौधरी र पार्वती माता भनिने किस्मती चौधरीसहितले बोक्सी आरोप लगाउँदै ६ घन्टासम्म निर्घात कुटेका थिए।

निर्घात कुटाइबाट गम्भीर घाइते उनलाई उद्धार गरेर धनगढीमा उपचारका लागि ल्याइएको थियो। उनलाई केही दिन धनगढीस्थित महिला पुनस्र्थापना केन्द्रमा राखेपछि प्रमुख जिल्ला अधिकारीसहितको पहलमा गाउँमै पुनर्स्थापना गरिएको हो।

जिल्ला अदालत कैलालीले घटनामा संलग्न भोलेबाबासहित तीन जनालाई दोषी ठहर गर्दै कैद फैसला सुनाइसकेको छ। पीडक भोलेबाबालाई ५ वर्ष कैद सजाय र एक लाख जरिवाना भराउने फैसला भएको थियो। कुटाइमा संलग्न सोही ठाउँका किस्मतीलाई ५० हजार जरिवाना र एक वर्ष कैद तथा पार्वती चौधरी (स्मारिका) लाई ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना भराउने फैसला गरेको थियो। कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्