काठमाडौँ, १२ भदौ / सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका चारमध्ये तीन विषयगत समितिका सभापति पदका लागि आज उम्मेदवारीको मनोनयन दर्ता भएको छ ।
संसद् सचिवालयले उम्मेदवारी मनोनयनका लागि तोकेको समयावधिमा विधायन व्यवस्थापन समितिको सभापतिमा परशुराम मेघी गुरुङ र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा रामनारायण विडारीको एक मात्र उम्मेदवारी परेको हो ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा दिलकुमारी रावल थापा (पार्वती) मात्र उम्मेदवारी परेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले राससलाई जानकारी दिनुभयो । सभापतिका तिनै उम्मेदवार सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद हुनुहुन्छ ।
दिगो विकास तथा सुशासन समितिको सभापतिमा भने कसैको पनि उम्मेदवारी परेको छैन् । उक्त समितिको नेतृत्व दलहरुबीचको आपसी समझदारीका आधारमा लगत्तै चयन गरिने बताइएको छ ।
संसद् सचिवालयले निर्धारण गरेको सूचनाअनुसार आज बिहान ११ देखि साँझ ४ बजेसम्म उक्त उम्मेदवारी मनोनयन दर्ता भएको हो । बुधबार बिहान ११ बजे बस्ने तीनै समितिका बैठकबाट सम्बन्धित सभापतिको चयन हुनेछ ।
राष्ट्रियसभा नियमावलीको दफा १५० मा समितिका सभापतिको निर्वाचनको व्यवस्था छ । उनन्साठी सदस्यीय राष्ट्रियसभाका विषयगत समितिका बैठक हाल ज्येष्ठ सदस्यको अध्यक्षतामा हँुदै आएका छन् । (रासस)