काठमाडौं १५ भदौ । एक वर्षअघि तुर्कमिनिस्तानको अस्गबातमा ‘एसियन इन्डोर तथा मार्सल आर्ट्स गेम्स’ आयोजना भयो । उक्त प्रतियोगितामा नेपालले सहभागिता जनायो । तर प्रतियोगिताका लागि अस्गबात पुगेका केही नेपाली खेलाडी स्पर्धामा भागै नलिई घर फर्किए ।
प्रतियोगिता छाड्नुको कारणबारे उनीहरूलाई सोधियो । केही खेलाडीले उत्तर दिए— खेलको समयमा शौचालय गएका थियौं । केहीले आफूलाई खेल सुरु हुने समयबारे जानकारी नभएको बताए । केहीले भने बाटो बिर्सिएर खेलमैदान पुग्न ढिलो भएको दाबी गरे ।
सञ्चारमाध्यममा उक्त समाचारले प्राथमिकता पायो । यसपछि नेपाली खेलकुदको नेतृत्वदायी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्यस विषयमा छानबिन समिति बनायो । सोही समितिको प्रतिवेदनका आधारमा उसले केही खेलाडीलाई कारबाही ग¥यो । केहीलाई भने सचेत मात्र गराएर उन्मुक्ति दियो ।
इन्डोनेसियाको जकार्ता र पालेम्बाङमा एसियाली खेलकुदको १८औं संस्करण आयोजना भइरहेको छ । यो एसियाको सबैभन्दा ठूलो प्रतियोगिता हो । तर, यो प्रतियोगितामा पनि केही नेपाली खेलाडीको व्यवहार अस्गबात घटनाकै झल्को दिने खालको छ ।
खेलाडीको निराशाजनक प्रदर्शन त छँदै छ, त्यसमाथि अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर राष्ट्रको गौरव बढाउने उद्देश्यसहित विदेश पुगेका खेलाडीले आफ्नो खेल नै छाड्नु नेपालका लागि झनै दुःखको विषय बनेको छ । यसपालिको प्रतियोगितामा पनि नेपालका वीरमान लामाले उसुको पुरुष सान्दा ६५ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने कार्यक्रम थियो । लाओसका खेलाडी दाम्चोपोछ खिओसाभतसँग क्वार्टरफाइनल खेल्नुपर्ने उनी प्रतिस्पर्धामै उपस्थित भएनन् । फलस्वरूप ‘बाई’ पाएर लाओसका खेलाडी अघिल्लो चरणमा पुगे ।
प्रतियोगिताका लागि विदेश गएका खेलाडी नखेल्ने मात्र होइन, तालिकासमेत थाहा नपाएर बिलखबन्दमा पर्ने गरेका पनि छन् ।
वीरमानले प्रतियोगिता छाड्नुको कारणबारे बुझ्न खोज्दा उनी अस्वस्थ रहेको जानकारी दिइयो । नेपालमै हुँदादेखि नै उनी ढाडको समस्याबाट पीडित रहेको बताइएको छ ।
यस्ता घटनामा खेलाडी त दोषी छन् नै, त्यसभन्दा पनि बढी कमजोरी खेल पदाधिकारीको छ । ‘एसियाकै बलिया प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्नुपर्ने थलोमा समेत एउटा अस्वस्थ खेलाडीलाई सहभागी गराइन्छ भने नेपालका लागि योभन्दा ठूलो दुर्भाग्य अरू के हुन सक्छ’, एक खेल पदाधिकारीले भने, ‘आफ्ना खेलाडीको प्रदर्शन र स्वास्थ्य अवस्थाको विषयमा सामान्य जानकारीसमेत नराख्ने पदाधिकारी यसका दोषी हुन् ।’ यस्ता घटनाले ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि हुने खेलाडी छनोट प्रक्रियामा समेत प्रश्न उठ्ने उनको भनाइ छ ।
बिरामी खेलाडीलाई एसियाडमा सहभागी गराइएको विषयमा आफूलाई कुनै जानकारी नरहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले बताए । ‘खेलाडी छनोटदेखि लिएर अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी सिफारिस गर्ने कामसमेत सम्बन्धित खेल संघहरूको हो’, उनले भने, ‘बिरामी खेलाडी ल्याइएको विषयमा मैले पछि मात्र थाहा पाएँ । यस विषयमा आवश्यक छानबिन हुन्छ ।’
तर सम्बन्धित खेल अधिकारी भने यसमा खेलाडीको दोष देख्दैनन् । नेपालमा चिकित्सकले उनलाई प्रतियोगिता खेल्न सक्ने भनेर योग्य घोषित गरेका थिए । तर, जकार्ता पुगेपछि नेपाली टोलीका चिकित्सकले उनलाई प्रतियोगिता खेलाएर जोखिम उठाउन नहुने सुझाए । र पछि मात्र खेलाडीले भाग नलिएको ती अधिकारीको दाबी छ ।
यसैगरी एथलेटिक्समा नेपाली धावक यामसाजन सुनारले पनि आफ्नो खेल छाडेका थिए । पुरुष एक सय मिटर दौडमा सहभागिता जनाएका यामसाजनले तीन दिनपछि भएको दुई सय मिटर दौडको छनोट चरणमा भने भाग लिएनन् ।
मध्य जकार्तास्थित गेलोरा बुङ कार्नो रंगशालामा भएको एक सय मिटर दौडमा यामसाजन हिट चरणबाटै बाहिरिएका थिए । एक सय मिटरमा राम्ररी नै दौड पूरा गरेका यामसाजन आफ्नो हिटमा आठौं तथा अन्तिम स्थानमा आएका थिए । उनले निर्धारित दूरी पार गर्न ११ दशमलव ३९ सेकेन्ड समय लगाएका थिए ।
स्वास्थ्यमा समस्या आएको कारण देखाएर दुई सय मिटर दौडमा भने उनी आफैंले नखेल्ने निर्णय लिएका थिए । यसका लागि उनले आफ्नो तिघ्राको मांसपेसीमा समस्या आएको कारण देखाएका थिए । उनले कारणसहित सम्बन्धित निकायमा निवेदन दिएका पनि थिए । यद्यपि, त्यसअघि उनको मांसपेसीमा समस्या देखिएकोबारे कसैलाई जानकारी गराइएको थिएन ।
‘यामसाजनले आफ्नो तिघ्राको मांसपेसीमा समस्या आएकाले दुई सय मिटर दौडमा भाग लिन नसक्ने भन्दै राखेपका सदस्य सचिवलाई निवेदन दिएका थिए । खेलाडी आफैंले घाइते भएँ भनेपछि खेलाउने कुरा पनि आएन’, राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक रिम रानाभाटले भने ।
खेलका क्रममा खेलाडी घाइते हुनु स्वाभाविक हो । तर त्यसका लागि आधिकारिक चिकित्सकले खेलाडी घाइते भएको भएको र त्यस्ता खेलाडीलाई खेलाउँदा जोखिम हुने कुरा पुष्टि गर्नुपर्छ । राष्ट्रिय टिम तयारी समितिका संयोजकसमेत रहेका रानाभाटका अनुसार यामसाजनले राखेपमा दिएको निवेदनमा कुनै पनि चिकित्सकको प्रमाणपत्र संलग्न गरेका छैनन् । न त राखेपले नै खेलाडीको स्वास्थ्य परीक्षण गराउने चासो देखाएको छ ।
म्याराथन स्पर्धामा पनि दुवैजना नेपाली खेलाडीले बीचैमा दौड छाडेका थिए । पुरुष म्याराथनमा नेपाली धावक कृष्णबहादुर बस्नेतले लक्ष्यनजिक पुग्नुभन्दा करिब दुई किलोमिटर पहिले दौड छाडेका थिए । अर्का धावक गोपीचन्द्र पार्कीले पनि ३० किलोमिटर दूरी पार गरेपछि दौड त्यागेका थिए । इन्डोनेसियाको मौसमका कारण खेलाडीले दौड पूरा गर्न नसकेको नेपाली खेल अधिकारीको दाबी छ ।
एथलेटिक्समै ‘लेट इन्ट्री’का कारण दुईजना धावकले सहभागिता जनाउन नपाएको विषय प्रकाशमा आएपछि दुई खेल निकाय राखेप र नेपाल ओलम्पिक कमिटी (एनओसी)बीच आपसमा आरोप प्रत्यारोपको घटना त झनै उदेकलाग्दो बन्न पुग्यो । विश्वरूपा बुढाले महिला १० हजार मिटर दौड र सोमबहादुर कुमालले पुरुष चार सय मिटर दौडमा निर्धारित समयभन्दा ढिलो नाम दर्ता गराएका कारण प्रतियोगितामा सहभागिता जनाउन नपाएको घटनापछि यी दुई खेल निकाय त्यसको दोष एकअर्कामाथि थोपर्न लागिपरेका छन् ।
यसअघि नेपाल एथलेटिक्स संघले एसियाडमा विश्वरूपाले १० हजार र पाँच हजार तथा सोमबहादुरले चार सय र आठ सय मिटर दौडमा भाग लिने बताएको थियो । तर, प्रतियोगितामा भने विश्वरूपाले १० हजार र सोमबहादुरले चार सय मिटरमा प्रतिस्पर्धा गर्न नपाएपछि यससम्बन्धी विवाद सुरु भएको थियो । अन्नपूर्णपोष्टबाट