Logo

प्रदूषण नियन्त्रणको सारथी गिद्ध



काठमाडौँ । गिद्ध आफैले शिकार नगरी केवल मरेका प्राणीको सिनो मात्र खाने भएकाले वातावरणलाई प्रदूषण र दुर्गन्धरहित बनाउन यसको भूमिका महत्वपूर्ण छ ।

तथ्याङ्कअनुसार एउटा गिद्धले औसत एक वर्षमा कम्तीमा १२० किलो सिनो खाएर वातावरण सफा राख्न मद्दत गर्दछ । सिनोको कुशलतापूर्वक छोटो समयमै दोहन गर्ने गिद्धले भुस्याहा कुकुर, स्याल, मुसा र झिँगाको सङ्ख्यामा हुने वृद्धिलाई समेत न्यूनीकरण गर्ने विज्ञको भनाइ छ ।

परिणामत मानिसमा रेबिज, प्लेग, हैजा, आँऊ र झाडापखालाको माहामारी तथा पशुचौपायामा हुने एन्थ्रेक्स्, ब्रुसेलोसिस् र क्षयरोग जस्ता रोगको महामारीबाट बच्नसमेत मद्दत पुग्ने नेपाल पक्षी संरक्षण सङ्घका गिद्ध संरक्षण कार्यक्रम अधिकृत कृष्ण भुसालले बताउनुभयो । पारिस्थितिकिय प्रणाली सन्तुलनमा गिद्धको भूमिका महत्वपूर्ण छ ।

गिद्ध आफ्नो आहारा खोजीका लागि सयौं किलोमिटर क्षेत्रसम्म उड्ने गर्छ । गिद्धलाई प्रकृतिको कुचिकार भनिन्छ । वन तथा वातावरण मन्त्रालयले शुरु गरेको ‘नेपाल स्वच्छ वातावरण महाअभियान, २०७५’ कार्यावन्यनमा गिद्ध र यसको संरक्षणमा भएका प्रयास सहयोगी बन्नसक्ने कार्यक्रम अधिकृत भुसालले बताउनुभयो ।

यही भदौ १६ गते दशौंँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस नेपालका साथै संसारभर मनाइँदै छ । दक्षिण अफ्रिकामा सन् २००५ देखि नै मनाइँदै आएको राष्ट्रिय गिद्ध सचेतना दिवस विकसित भई सन् २००९ देखि अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउन थालिएको हो । सो दिवसमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सरोकारवाला सङ्घ संस्थासँगको सहकार्यमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने जनाएको छ ।

यस अवसरमा गिद्धको घना वासस्थान र आसपासका क्षेत्रमा स्थानीय समुदाय, सरकारी निकाय, संरक्षण संस्था र विद्यालयको साझेदारीमा विभिन्न कार्यक्रम गरिने विभागले जनाएको छ । नेपालले गिद्ध संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जमा गिद्ध प्रजनन केन्द्र स्थापना गरी विभिन्न संस्थाको सहयोगमा वासस्थान संरक्षणसमेत गर्दै आएको छ । रासस



प्रतिक्रिया दिनुहोस्