Logo

पोल्याण्डमा ‘लालाबाला’



काठमाडौं । बालबालिकाका लागि विशेष अभिनय तालिम दिएर व्यवसायिक बाल कलाकार उत्पादन गर्ने सोचसहित सुरु गरिएको ‘लालाबाला’का पहिलो वर्षका प्रशिक्षार्थी बाल कलाकारहरू कुञ्ज थिएटरमा नियमित मञ्चन गरिएको व्याच प्रस्तुति नाटक हिरोज डोन्ट कम सहित पोल्याण्ड आयोजित अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागी हुँदैछन् ।

‘थिएटर ब्रामा’ को ‘द ह्युमन मोजाइक’ नाम गरेको अन्तर्राष्ट्रिय महोत्सवमा भाग लिनको लागि पोल्याण्डको गोलोनियोमा रहेको टोलीको नेतृत्व रङ्गकर्मी तथा आख्यानकार टङ्क चौलागाईँले गरेका छन् भने सो नाटकका लेखक तथा निर्देशक प्रकेश सिनधुलीय बाल कलाकारहरूलाई नियमित अभ्यास गराउँदै आइतबार हुने नेपालको प्रस्तुतिको लागि तयारी गरिरहेका छन् ।

लालाबाला अभिनय कक्षाबाट निखारिएका बालबालिकाहरूलाई लिएर काठमाण्डू प्रज्ञा कुञ्ज स्कुलसँगको सहकार्यमा स्कुल थिएटर नेपालले अन्तर्राष्ट्रिय नाटक महोत्सवको लागि सो दुई हप्ते भ्रमण संयोजन गरेको हो ।

नाटक हिरोज डोन्ट कम काठमाडौँको कुञ्ज थिएटरमा ब्याच प्रोडक्सनको रुपमा नियमित मञ्चन समेत गरिएको थियो । चलनचल्तीको हिरो शब्दको परिभाषा र उदाहरणलाई नाटकले चुनौती दिएको लेखक तथा निर्देशक प्रकेश सिन्धुलीय बताउँछन् ।

सो नाटक थिएटर ब्रामाको अन्तर्राष्ट्रिय महोत्सवमा यही आइतबार दिउँसो मञ्चन हुने समेत उनले बताए । समूहको नेतृत्वसमेत गरेका टंक चौलागाईँ स्कुल थिएटर नेपालको ‘लालाबाला’ कार्यक्रमका संयोजक र मुख्य प्रशिक्षकसमेत हुन् ।

उनले भने,‘यो ‘लालाबाला’ को पहिलो ब्याचका विध्यार्थीहरूको प्रस्तुति हो,’लालाबाला’ कै दोस्रो ब्याचको अभिनय कक्षा अहिले भर्खर सुरु भएको छ, सो ब्याच पनि यसैगरी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सवहरूमा सहभागी हुनेछ।’

नाटकमा अरविन खड्का, अभिनित चौलागाईँ, प्रेक्षा कार्की, सार्थक श्रेष्ठ, सिजन बस्नेत, दीप्सना चौधरी, कश्यप ज्ञवाली, अद्वैत थापा, शिविका खड्का र उदिती मण्डलले नेपालको तर्फबाट प्रस्तुति दिँदैछन् ।



प्रतिक्रिया दिनुहोस्