काठमाडौँ । क्याम्बोडियाका संरक्षण विद्ले देशमा गिद्ध संरक्षणका लागि सबैको साझा प्रयास हुनुपर्नेमा जोड दिएका छन् ।गिद्धलाई क्याम्बोडियाको एक दुर्लभ चराका रुपमा लिइन्छ । ती चराहरु याम्बोडियामा लोप हुनलागेकोले तिनको संरक्षणमा संरक्षण विद्ले जोड दिएका हुन् ।
विषादिको प्रयोग, खानाको कमी र आवश्यक वासस्थानको अभावमा क्याम्बोडियामा गिद्ध लोप हुने अवस्थामा पुगेका भन्दै गिद्ध संरक्षणका लागि सबैको संयुक्त प्रयास जरुरी रहेकोमा उनीहरुले जोड दिएका हुन् ।
विश्व वन्यजन्तु संरक्षण समाज, प्रकृति संरक्षण कोषसमेतको समन्वयमा क्याम्बोडिया गिद्ध संरक्षण संस्थाले विश्व गिद्ध संरक्षण चेतना दिवसको अवसरमा शनिबार एक विज्ञप्ति प्रकाशन गरेर यो आग्रह गरेका हुन् ।
ती संस्थामा कार्यरत संरक्षण विद्ले के कति कारणले गिद्ध लोप हुने अवस्थामा पुगेको हो भन्ने बारेमा आवश्यक अनुसन्धान गरी यस समस्याको सम्बोधनमा लाग्न विश्वमा चरा तथा वन्यजन्तु संरक्षणको क्षेत्रमा कार्यरत संस्थालाई आग्रह गरेका हुन् ।
गिद्धले मरेका जनावरको मासु खाने भएकोले जनावर मरेपछि कुहिएर त्यसका कारण रोग फैलिनसक्ने खतराबाट पनि गिद्ध कै कारण मुक्ति मिल्ने भन्दै पर्यावरणीय सन्तुलनका लागि पनि गिद्धको संरक्षण आवश्यक रहेको उनीहरुको भनाइ छ ।
क्याम्बोडियाका संरक्षण अधिकारीका अनुसार यहाँ यस क्षेत्रमा कामगर्ने संघ संस्थाले सन् २००३ देखि गरेको निरन्तरको अनुगमन र अनुसन्धानबाट करिब ५० प्रतिशतको हाराहारीमा यहाँका गिद्धको संख्यामा ह्रास आएको पाइएको बताएका छन् ।
यसरी दिन प्रतिदिन गिद्धको संख्यामा ह्रास आएकोले संरक्षणका लागि सरकारले नै विशेष कार्यक्रम ल्याउनुपर्नेमा संरक्षणविद्ले सो विज्ञप्तिमार्फत जोड दिएका हुन् । एजेन्सि