Logo

युरोपेली सङ्घका सबै देशमा अब ‘वर्षैभरि एउटै समय’



काठमाडौँ । युरोपेली आयोगले युरोपेली सङ्घका सदस्य राष्ट्रहरूमा मौसमअनुसार घडीको समय परिवर्तन गरिने प्रचलन अन्त्य गर्ने प्रस्ताव गर्न लागिएको जनाएको छ।अब शीतकालीन समयको प्रावधानलाई हटाएर वर्षैभरि एउटै समयमात्र लागु गरिने उक्त आयोगले जनाएको छ।

ऋतुअनुसार समय परिवर्तन हुने प्रावधानका बारेमा गरिएको एक अनलाइन मतसर्वेक्षणका ८४ प्रतिशत सहभागीले घडीलाई ग्रीष्मकाल र शीतकालअनुसार परिवर्तन गर्ने चलन हटाउनु पर्ने पक्षमा मत दिएका थिए।

‘डे लाइट सेभिङ टाइम’ भनेर ईयूका देशहरूमा जाडो र गर्मीको बेला घडीमा परिवर्तन गरिने चलन छ।तर त्यस्तो प्रावधानमा परिवर्तनका लागि युरोपेली सङ्घको संसद् र सदस्य राष्ट्रहरूको सहमति ‌अनिवार्य छ।

सदस्य राष्ट्रहरूले अब आफ्नो समय ग्रीष्मकालीन वा शीतकालीन कुन रोज्नेछन् भन्ने स्पष्ट छैन।युरोपेली आयोगका एकजना प्रवक्ताले त्यो कुरा सदस्य राष्ट्रहरूको सार्वभौम निर्णय हुने बताएका छन्।

प्रवक्ता एलेक्सान्डर भिन्स्टर्स्टिनले भने, “यस सार्वजनिक परामर्शको परिणाम स्पष्ट आएको छ। ८४ प्रतिशत मानिस पक्षमा छन्। ४६ लाख युरोपेलीहरूले भाग लिएका सार्वजनिक परामर्श प्रक्रियाको नतिजालाई बेवास्ता गर्न सकिँदैन।”

एउटा पत्रकार सम्मेलनमा उपस्थित सम्वाददाताहरूले उक्त गठबन्धनभरि समयको प्रचलनलाई लिएर एकरूपता नहुन सक्ने सङ्केत गरेका छन्।तर युरोपेली आयोगले चेतावनी दिँदै भनेको छ – सबै सदस्य राष्ट्रहरूमा एउटा समयको प्रचलन नरहेमा त्यसबाट आर्थिक क्षति पुग्न सक्नेछ।



प्रतिक्रिया दिनुहोस्