Logo

छुटछुटै दुर्धटनामा तिन जनाको मृत्यु, अस्पताल तनावग्रस्त



पर्सा । पोखरीमा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ । नुहाउने क्रममा वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका १४ वर्षीय नितेश पटेल र ११ वर्षीय सुदर्शन पटेलको डुबेर मृत्यु भएको हो ।

दुवै जना रामगढवाको ज्योतिनगरस्थित पोखरीमा मङ्गलबार बेलुका साथीसँग नुहाउन गएका थिए । अबेर रातिसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा आज बिहान उनीहरुको शव पोखरीमा फेला परेको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिएका छन । दुवै बालकको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लगिएको छ ।

सुत्केरीको मृत्युपछि तनाव

पाँचथर । सुत्केरीको मृत्यु भएपछि यहाँको एउटा स्वास्थ्यचौकीमा तनाव भएको छ । याङवरक गाँउपालिका–३ स्थित स्वास्थ्य चौकीमा सुत्केरीको मृत्यु भएपछि आफन्त आन्दोलनमा उत्रेका छन् । उनीहरुले चिकित्सकको लापर्बाहीका कारण सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन् । याङवरक गाँउपालिका–३ का सुत्केरी गीता देवान सेलिङको आइतबार स्वास्थ्यचौकीमा मृत्यु भएको थियो ।

मृतकका आफन्त सन्तोष सेलिङका अनुसार सुत्केरीलाई यही भदौ १५ गते स्वास्थ्य संस्थामा लगिएको थियो । त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले समयमै उपचारमा ध्यान नदिएपछि उनको मृत्यु भएको आफन्तको आरोप छ । स्वास्थ्यकर्मीले भने थप उपचारका लागि फिदिम ल्याउने क्रममा मृत्यु भएको दाबी गरेका छन् । मृतकका श्रीमान समीर सेलिङले स्वास्थ्यचौकी इन्चार्ज जेतबहादुर शाही तथा अनमीद्वय सोनामी तामाङ र वर्षा गौतमविरुद्ध किटानी जाहेरी दिने बताएका छन । स्थानीयवासीले स्वाथ्य चौकीमा तालाबन्दीसमेत गरेका छन् ।

चट्याङबाट एकको मृत्यु

इलाम । माइ नगरपालिकामा चट्याङ लागेर मङ्गलबार एक महिलाको मृत्यु भएको छ ।चट्याङ लागेर माइ नगरपालिका–१ घर भई माइ नगरपालिका–६ पलासेमा डेरा गरी बस्ने ३६ वर्षीया कुमारी योङहाङको मृत्यु भएको हो ।

छिमेकीको घरमा चिया खाँदै गरेको अवस्थामा उनलाई चट्याङ लागेको हो । योङहाङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चट्याङ लागेर स्थानीयवासी टीकामाया योङहाङ र प्रकृति फत्र घाइते भएका छन् । उनीहरुको झापाको विर्तामोडमा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्