Logo

आलु र तरकारीका लागि रु पाँच करोड गरिने



नुवाकोट । नुवाकोटमा तरकारी र आलुको उत्पादन वृद्धि गर्न चालू आर्थिक वर्षमा रु पाँच करोड खर्च गरिने भएको छ । यहाँ सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ आलु र तरकारी क्षेत्र कार्यक्रमले चालू आवको लागि रु पाँच करोड बढी खर्चिने भएको हो ।

तरकारी क्षेत्रको लागि रु दुई करोड ५१ लख ८६ हजार र आलुका लागि दुई करोड ५१ लाख बजेट रहेको छ । जिल्लामा तरकारी क्षेत्र कार्यक्रम गत आवबाट लागू भएको हो । गत आवमा रु ८५ लाखमात्र बजेट थियो । परियोजना प्रमुख वरिष्ठ कृषि विकास अधिकृत डा कमलराज गैरेले तरकारी खेतीको विकास र विस्तारसहित बजारीकरणको समेत काम गर्न सो कार्यक्रम सञ्चालन भएको बताए ।

तरकारी क्षेत्रले नुवाकोटका चार गाउँपालिकालाई समेटेको छ । ककनी गाउँपालिका १ देखि ७, शिवपुरी गाउँपालिकाको वडा नं ६, ७ र ८, पञ्चकन्या गाउँपालिकाको वडा नं ३, ४ र ५ तथा दुप्चेश्वर गाउँपालिकाको वडा नं ३ र ५ लाई समेटेको छ । तरकारी क्षेत्रले जिल्लामा २५० हेक्टर क्षेत्रफल समेटेको छ । नुवाकोटमा तीन हजार २३८ हेक्टर जमीनमा तरकारीखेती हुँन्छ । अहिले २५० हेक्टरबाट कार्यक्रम शुरु गरिए पनि यसको क्षेत्र विस्तार हुँदै जाने डा गैरेले जानकारी गराए ।

तरकारी क्षेत्रमा ७६ कृषक समूह, सहकारी र उद्यमी संलग्न छन् जसमा एक हजार ३७ किसान प्रत्यक्षरुपमा सहभागी भएर तरकारी खेती गरिरहेका छन् । कार्यक्रम क्षेत्रले समेटेको गाउँमा १४ लाख तरकारीका विरुवा उत्पादन गर्ने क्रममा रहेको तरकारी जोन सञ्चालन समितिका संयोजक रामप्रसाद पुडासैनी बताउन्छन। “१५ वटा वडामा १५ नर्सरी स्थापना भएको छ ।

गत वर्ष १२ वटा स्थायी टनेल निर्माण गरेर एक हजार २४८ वर्गमिटर तरकारीखेती गरिने क्षेत्र वृद्धि भएको छ । यस वर्ष साना सिँचाइ, थोपा सिँचाइ, स्थायी टनेल निर्माण, कृषकलाई तालीम, भकारो सुधार कार्यक्रम, प्रविधि सहयोगलगायतका कार्यक्रम परियोजनाले सञ्चालन गर्ने प्रमुख डा गैरेले बताए ।

नुवाकोटमा आलुको विकास र विस्तारको लागि कार्यक्रम सञ्चालन हुने भएको छ । डेढ वर्षअघिबाट शुरु भएको आलु क्षेत्र परियोजनाको लागि चालू आवमा रु दुई करोड ५१ लाख बजेट विनियोजन गरिएको छ । आलु खेतीले लिखु, पञ्चकन्या, ककनी र सूर्यगढी गाउँपालिकाको ५८० हेक्टर क्षेत्रफल ओगटेको छ । यस कार्यक्रममा ४० कृषक समूह, २४ सहकारी, १३ उद्यमी र पाँच हजार ५२९ किसान आबद्ध भएको प्रमुख डा गैरेले जनाए।

कार्यक्रमअन्तर्गत सो क्षेत्रमा गत वर्ष ४४७ माटो परीक्षण, बीउ आलु वितरण, १० साना सिँचाइ योजना निर्माण, प्रविधि सहयोगजस्ता कार्यक्रम सञ्चानल भएको थियो । चालू वर्षमा आलु चिप्स मेशिन स्थापना, ५० प्रतिशत अनुदानमा प्रविधि हस्तान्तरण, कृषि चुन वितरण कार्यक्रम तय भएको छ । नुवाकोटमा आलुको उत्पादन राम्रो हुँदै आएको छ । थानसिङ, ढिकुरेलगायतका फाँटबाट किसानले हरेक वर्ष करोडौँको आलु उत्पादन गरी बिक्री गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्