Logo

वर्क फर नेपाल फाउण्डेशनद्धारा एक वर्षमा १५२ जना नेपाली चेलीहरुको विदेशबाट उद्धार गरिएको जानकारी



‘भदौ २९ गते सिन्धुपाल्चोक मेचलम्चीमा सामाजिक जनचेतनामूलक तिज विशेष बृहत्त सांस्कृतिक कार्यक्रम हुने’

काठमाडौं, २२ भदौ । वर्क फर नेपाल फाउण्डेशनले वैदेशिक रोजगारीको नाममा ईराकमा बेचिएका गंगामाया तामाङ, कान्छिमाया तामाङ र अर्चना थापालाई उद्धार गरेर स्वदेश फिर्ता गरेको आज जानकारी दिएको छ ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा फाउण्डेशनले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । वर्क फर नेपाल फाउण्डेशन, अन्तरपार्टी महिला सञ्जाल र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रष्ठिान जिल्ला कार्य समिति सिन्धुपाल्चोकले पत्रकार सम्मेलन गरेर संयुक्त रुपमा यस्तो जानकारी गराएका हुन् ।

ईराकमा बेचिएकी २० वर्षीया गंगामाया तामाङ (सिन्धुपाल्चोक) २० वर्षकै कान्छिमाया तामाङ (सिन्धुपाल्चोक) र २३ वर्षीया अर्चना थापा मगर (सिन्धुली) ले रोजगारीको नाममा नेपाली दलाहरुले नेपाली चेलीहरुलाई तेस्रो मुलुकमा बेच्ने गरेको बताउँदै सरकारलाई दलालीहरुको जालो पत्ता लगाएर दोषीमाथि कडा भन्दा कडा कानुनी कारबाही गर्न माग गरेका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै ईराकमा बेचिएकी कान्छीमाया तामाङले विदेश जानुपूर्व बुझेरमात्रै जानुपर्ने धारणा राखेकी छिन् । ईराकमा आफू बेचिँदाको पीडा र भोगेको दुःखलाई सुनाउँदै उनले भनिन्,‘मेरोजस्तो कसैले दुःख नपाओस्, मलाई भारतको बाटो हुँदै ईजरायल भनेर ईराकमा पुर्याएको थियो । पछि त मलाई दलालीहरुले बेचिसकेको थाहा पाएँ।’

त्यस्तै अर्चना थापा मगरले नेपाली महिलाहरुले बिदेश जानुपुर्व सोचबुझपछि मात्रै जानुपर्ने बताईन् । उनले भनिन्, ‘मैले भोगेको दुःख अरु नेपाली चेलीहरुले भोग्न नपरोस्, म त नेपालमै काम गरेर खानुपर्छ, यही देशमा केही गरिखानुपर्छ, मैले दलाललाई चिन्न नसकेर दुःख पाएँ, नेपालबाट दुवई भनेर मलाई लगिएको हो । तर, मलाई दुवई नलगी सिधै इराक पुर्याईएछ । तिर्गिस्तान्को लागि भनेर ईराकमा बेचिदिए, १३ महिनासम्म मैले दुख भोग्नुपर्यो, शारिरिक रुपमा हमला गर्ने गर्थे, अबका दिनमा बिदेश भन्ने शब्द वाचनसम्म गर्न नपरोस् ।’

सरकारले बैदेशिक रोजगारको बारेमा जनचेतनामुलक तथा सन्देशमुलक कार्यक्रमहरु गर्नुपर्ने भन्दै वर्क फर नेपाल फाउण्डेशनलका कार्यवाहक अध्यक्ष धावा ठोकरले कडा कानून बनाउनुपर्नेमा जोड दिएका छन् । उनले भने,‘नेपाली चेलीहरुलाई विदेशमा बेचिनबाट रोक्नको लागि हाम्रो सरकार गम्भिर बन्नुपर्छ । दलालहरुलाई कडा कानूनी कारबाही गर्नुपर्छ ।’

फाउण्डेशनले पछिल्लो एक वर्षमा विभिन्न देशहरुबाट १५२ जना नेपाली चेलीहरुको उद्दार गरेको पनि कार्यवाहक अध्यक्ष ठोकरले जानकारी गराए ।

नेपाली चेलीहरुलाई विदेशमा बेचिनबाट रोक्ने अभियानमा संलग्न आफूहरुजस्तो सामाजिक अभियन्तालाई नै दलाली र मानव तस्करहरुले ज्यान मार्नेसम्मको धम्की दिने गरेको पनि उनले गुनासो पोखे । उनले थपे,‘राज्यले अब हामीहरुको लागि पनि उचित सुरक्षाको प्रबन्ध गर्दै प्रोत्साहन गर्नुपर्छ । यसो भयो भने हामी अझ सक्रिय भएर नेपाली चेलिहरुलाई विदेश बेचिनबाट रोक्न सक्छौं ।’

त्यस्तै अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष उमा प्रधानले नेपाली चाडपर्वहरु सन्देशमुलुक तरिकाले मनाउनुपर्नेमा जोड दिएकी छिन् । उनले भनिन्,‘तीजजस्ता पर्वहरु भड्किलो हुँदै गएका छन् । गरिबहरुले खान पाएका छै्नन् । चाड पर्वको नाममा भड्किलो र फजुल खर्च गर्नुको साटो समाजलाई सन्देश दिने र महिलाहरु बेचिनबाट जोगाउने काममा लाग्नुपर्छ ।’

त्यस्तै कार्यक्रममा रालो तथा दोहोरी गीत प्रष्ठिान जिल्ला कार्यसमिति सिन्धुपाल्चोकका अध्यक्ष योगेश लामाले भदौ २९ गते शुक्रबार सिन्धुपाल्चोकको मेलम्ची बजारमा मावन बेचबिखन तथा ओसारपोसार रोकथाम गर्न, वैदेशिक विकृतिलाई न्यूनिकरण गर्न, श्रम र श्रमिकहरुको समस्या समाधान गर्न र संस्कृतिको जर्गेना गर्न सामाजिक जनचेतनामूलक तिज विशेष बृहत्त सांस्कृतिक कार्यक्रम–२०७५ गरिने जानकारी दिए ।

उनले भने,‘भदौ २८ गते राष्ट्रिय लोक तथा दोहोरी प्रष्ठिानको अधिवेशन हुन्छ र २९ गते बृहत साँस्कृतिक कार्यक्रमसँगै कलाकार तथा विभिन्न स्रष्टाहरुलाई सम्मान गरिने पनि कार्यक्रम छ, उक्त कार्यक्रममा भाग लिन सबैलाई आग्रह गर्दछु ।’

आजको कार्यक्रम वर्क फर नेपाल फाउण्डेशनका सचिव नविन कुमार खड्काले सञ्चालन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्