काठमाडौं । आगामी ९१ औं एकेडेमी अवार्डस् द ओस्कार अवार्डमा सहभागी हुनका लागि नेपाली फिल्मलाई आह्वान गरिएको छ । आफ्नो फिल्म अस्कर अवार्डमा सहभागी गराउन चाहनेले भदौ २९ गते शुक्रबारसम्म दर्ता गरिसक्नुपर्ने नेपालको अस्कर अवार्ड समितिले जनाएको छ ।
अस्कर अवार्ड समारोह सन् २०१९ फेब्रुअरी २४ तारिख आइतबारका दिन अमेरिकाको लस् एन्जेलसको डल्बी थिएटरमा आयोजना हुँदैछ । प्रतियोगितामा नेपालको फिल्मले बेस्ट फरेन ल्यांग्वेज ९गैरअंग्रेजी भाषी फिल्म० विधामा प्रतिस्पर्धा गर्न पाउनेछ ।
प्रतिस्पर्धामा भाग लिन चाहेको फिल्म २०७४ असोज १५ गतेभन्दा पछि तथा २०७५ साल असोज १४ गतेभन्दा पहिला नै सार्वजनिक प्रदर्शन गरिएको हुनु पर्नेछ ।
अमेरिकाको एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेसद्वारा तोकिएका सबै मापदण्ड पुग्ने एउटा मात्र नेपाली फिल्म अस्करका लागि पठाइनेछ ।
विमल पौडेल अध्यक्ष रहेको नेपालको अस्कर छनोट समितिमा लक्ष्मीनाथ शर्मा, प्रदीप कुमार उपाध्याय, राजेन्द्र शलभ, राजुबिक्रम थापा, लोकेन्द्र पराजुली, सामीप्यराज तिमल्सेना सदस्य रहेका छन् ।