काठमाडौं । आज नेपाली हिन्दुनारीहरुको महान चाँड हरितालिका तीज हो । महिलाहरुले विजय र खुसिको रुपमा लिने गरेको तीजको बजार वर्तमान समयमा आएर विस्तार भएको मान्न सकिन्छ ।
पौराणिक कालदेखि चल्दै आएको तीज र अहिले तीजलाई हेर्ने अनि ब्याख्या गर्ने तरिका केही फरक हुनुसक्छन् । तर नेपाली कलाकारहरुले महिला विषेश र पुरुष विषेश भन्दा पनि सबैको दुबैको साझा बनाउनुपर्नेमा एकजुट भएको देखिन्छन् ।
पुरुषको सहभागितको आधारमा भन्ने हो भने तीजको आकार विस्तार भएको मान्न सकिन्छ । अर्को तर्फ पुरुषले यस चाँडमा सहभागि हुन पाईने या नपाईने ? सहभागिता जनाउँदा के भयो ? सहभागिता नभएको खण्डमा के हुन्छ ? यस्ता प्रश्नको उत्तरको लागि कि त वहसको खाँचो छ । नभए यस्ता प्रश्नहरु अनुत्तरीत रहिरहन्छन् ।
नेपाली समाज अनेकतामा एकता भएको मुलुक हो । १ सय २३ भाषा र १ सय २५ जातसँगै विभिन्न धर्म सप्रदायका मानिसहरुको बसोबास छ । विश्वका अति सानादेखि ठूला देशहरुमा सिमित मानिस र समुदायको बसोबास भएपनि त्यहाँ कुनै न कुनै हिँसा भएकै उदाहरण छन् । तर हाम्रो देशमा आजको दिनसम्म जातीय र धार्मीक प्रकारको दङ्गा भड्कीएको छैन् ।
त्यसैले पनि यस्ता पर्वहरुलाई राष्ट्रिय करण गर्नमा जोड दिुनपर्छ । अर्को कुरा महंगो र भड्कीलो बनाउनु भने हुँदैन । गर गहना देखाउने र धनी गरिबबीचको दुरी नाप्ने रुपमा विकसित हुुनुहुँदैन । धार्मीक रुपमा तीजबारे केही प्रसँगहरु:
तीजको महत्व
हाम्रो समाजमा तीज महिलाहरूले मनाउने एउटा महत्वपूर्ण पर्व हो । आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन विताउनु पर्नेहुन्छ ।
यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरको रूपमा तीजपर्वको गहन महत्व रहेको छ । तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ ।
तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत वसी नाचगान र मनोरञ्जन गर्छन भने अविवाहिताहरू सुयोग्य वरको आशा राखी ब्रत बस्छन । ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण ब्राह्मणीहरूलाई दानदक्षिणा गर्ने चलन रहेको छ ।
दरखाने दिन
यो चाडमा माइतीले ९बाबु आमा,दाजुभाइ० छोरीरचेली लाई घरमा गई लिएर आउने वा बोलाएर मीठा–मीठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने–बस्ने चलन छ । यस दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ । यहि दर खाने दिन बाट नै तिज पर्वको आरम्भ भएको मानिन्छ ।
दरमा ठाउँ अनुसार विभिन्न मिठा-मिठा परिकार साथै खीर, ढकने, सेलरोटी, केरा लगायतका खाना, फलफुल खाने गरिन्छ । आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ । भोलिपल्ट दिनभर पानी सम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राती ढीलासम्म बसेर पेटभरी खाने प्रचलन बसेको हो ।
मनाउने तरिका
तीजको दिनका अतिरिक्त गणेश चतुर्थी र ऋषिपञ्चमी लाई पनि तीज पर्वकै रूपमा मनाइन्छ । खास गरी यसमा स्त्रीहरूले पतिको निमित्त निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वती सँग प्रार्थना गर्दछन् । यो दिन महिलाहरु विहान चाँडै उठी नुहाई धुवाई गरेर दिनभरी जल अन्न ग्रहण नगरी ब्रत बस्ने गदैछन । बेलुकी पख घर गाउँ र छिमेकका महिलाहरु भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ ।
निर्जला ब्रत भनिएपनि आजभोली महिलाहरु मध्यान्हमै पुजा आराधना पश्चात फलफूल ग्रहण गर्ने गर्दछन । कतिपय महिलाहरु नजीक रहेको शिवमन्दिरमा गई शिव आराधनाका साथै नाच गान तथा रमाईलो गर्ने गर्दछन् । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा महिला ब्रतालुहरुको ठूलो भीड हुने गर्दछ ।
तीजको धार्मिक पृष्ठभूमि
हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्न बसिन् ।
यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस् भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।